काठमाडौं- स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ। ती मध्ये म्यादी प्रहरीमा भर्ना भएकी एक युवतीले भने आत्महत्या गरेकी छन्।
काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक-एक जना म्यादी प्रहरीको ज्यान गएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले देशका विभिन्न स्थानमा विभिन्न कारणले पाँच जनाको ज्यान गएको बताएका छन्।
सिन्धुपाल्चोकमा एक जना म्यादी प्रहरीले आत्महत्या गगरेकी छन्। सिन्धुपाल्चोककी अनिता भट्टराईले विष सेवन गरी आत्महत्या गरेकी थिइन्।
सिन्धुपाल्चोककै चौतारा साँगाचोकगढी-६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो।
नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको दुर्घटनामा मृत्यु भएको थियो। हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका-६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत फेला परेका थिए।
सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ। आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन।