शुक्रबार, कात्तिक १३, २०८३

मतदाता भन्छन् : 'हाम्रालाई होइन, राम्रालाई रोजौँ'

निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न मतदाताको घरदैलोमा पुगिरहेका छन्। मतदाता भने विकासप्रेमी, सक्षम उम्मेदवारलाई मतदान गर्ने पक्षमा देखिन्छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

पाल्पा- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्रै बाँकी छ। आसन्न स्थानीय तहको निर्वाचनले मुलुकमा निर्वाचन–उल्लासयुक्त वातावरण बनेको छ। 

निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न मतदाताको घरदैलोमा पुगिरहेका छन्। मतदाता भने विकासप्रेमी, सक्षम उम्मेदवारलाई मतदान गर्ने पक्षमा देखिन्छन्। 

विगतका निर्वाचनमा कुनै राजनीतिक दलका पक्षमा रहेर मतदान गरेका मतदाता अब गाउँको विकासका लागि दलगत स्वार्थभन्दामाथि रहेर काम गर्ने उम्मेदवारलाई छनोट गरी मतदान गर्ने बताउँछन्। विभिन्न राजनीतिक दलका उम्मेदवार आफ्नो पार्टीको पक्षमा मतदान गर्न आह्वानसहित गाउँमा आउने गरे पनि उम्मेदवार हेरेर मात्रै मतदान गर्ने बताउँछन् रामबहादुर राना।

'गाउँमा विकास हुनुपर्‍यो, हामी जनताले विकास अभावमा निकै समस्या भोग्नु परेको छ, अब पनि हामी पार्टीभन्दा माथि उठेर हाम्रालाई होइन राम्रालाई रोज्नुपर्छ, यसो गरिएन भने विकासले गति लिन सक्दैन, हामीलाई चाहिएको विकास हो', उनले भने। 

चुनावको सरगर्मीले यतिबेला बाटो, सभासमारोह, धनी–गरिब, अशक्तका घरदेखि चिया पसल र विभिन्न समाजिक सञ्जालमा सक्षम र योग्य उम्मेदवारका पक्षमा मतदान गर्ने सम्बन्धमा मतदाताले आफ्ना विचार राखिरहेका छन्। गाउँघरमा नागरिक शिक्षित र सचेत हुँदै जाँदा कुनै दलको पार्टी कार्यकर्ता भएर मतदान गरेका नागरिक अब सक्षम र योग्य उम्मेदवारलाई मतदान गर्नुपर्ने उनीहरूको तर्क चलिरहेको पाइन्छ। 

मतदाता आफैं ‘हाम्रालाई होइन, राम्रालाई मतदान’ गर्न चुनावी प्रचारप्रसारका व्यस्त देखिएका छन्। राजनीतिक दलले आ–आफ्नै ढङ्गले गाउँघरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरे पनि यहाँका मतदाता भने गाउँ छिमेकमा हाम्रालाई नहेरी राम्रालाई मतदान गर्न चुनावी माहोलमा जुटेका छन्।

राम्रा व्यक्तिलाई मतदान गर्ने अधिकार मतदातालाई छ। कसैको पनि प्रलोभनमा नपरी आफूले योग्य ठानेको राम्रा व्यक्तिलाई मतदान गरियो भने गाउँमै सबै कुराको सुख सुविधा हुने ज्येष्ठ नागरिक तिलकुमारी उपाध्याय बताउँछिन्। 

उनी भन्छिन्, 'यसभन्दा अघि पनि धेरैपटक मतदान गरियो, यहाँबाट निर्वाचन जितेपछि नेता शहर पस्ने गर्दा गाउँको विकास भएन, अहिले स्थानीय सरकार आएपछि विकासको ढोका खोलिएको छ, अबको निर्वाचनमा जनताको मन जितेर काम गर्ने उम्मेदवारलाई मतदान गर्नेछौँ।' 

गाउँको विकास चाहने हो भने पार्टी नहेरी व्यक्ति हेरेर भोट हाल्ने मतदाताले ‘हाम्रालाई होइन राम्रालाई रोजौँ’ यी विषयमा जान्नु र बुझ्नु आवश्यक रहेको उनीहरू बताउँछन्। नेतृत्व सम्हालेपछि कतिपयले आफ्ना कार्यकर्तालाई मात्रै विभिन्न योजनाका काम सुम्पने, उपभोक्ता समितिमा आफू निकटका व्यक्तिलाई स्थान दिँदा गाउँमा सोँचेअनुसारको काम नभएको युवा प्रदीप पाण्डेयले बताए।

'निर्वाचनमा कुनै दलको उम्मेदवार भए पनि चुनाव जितेपछि सबैको साझा व्यक्ति बन्नुपर्छ, सबैलाई समेटेर लैजानसक्ने नेतृत्वको खाँचो छ, विकास निर्माण तथा विभिन्न योजनाका काममा आफू निकटका व्यक्ति, कार्यकर्तालाई मात्रै समेट्दा काममा पारदर्शिता पनि हुँदैन', उनले भने।

निर्वाचनको समयअगावै मतदातासमक्ष विभिन्न आश्वासन बाँड्ने र नेतृत्वमा पुगेपछि सो आश्वासन पूरा नगर्ने परिपाटी नेतृत्वमा देखिएको स्थानीय बताउँछन्। साथै, यहाँका मतदाताले झुठो र बोलेका कुरा पूरा गर्न नसक्ने आश्वासन नदिन अनुरोध गरेका छन्। 

सामान्य भौतिक पूर्वाधार पनि खडा हुन नसकेको गाउँमा विदेशी देशसँग तुलना गरेर विशाल शहर बनाउने योजना लिएर चुनावका बेलामात्र मतदातासँग हात नजोड्न उनीहरूको अपिल छ। 

चुनाव नजिकिँदै गर्दा र यससम्बन्धी माहोल खडा भइरहँदा गाउँगाउँमा मुखले राम्रोका पक्षमा भाषण गरेको देखाउँदै जनतालाई भोज भतेरदेखि विभिन्न प्रलोभनमा पार्दै हाम्रालाई जिताउन विभिन्न दलका नेता कार्यकर्ता कम्मर कसेर लागेको देखिन्छ।    सुशीला रेग्मी, रासस

प्रकाशित: May 08, 2022| 12:12 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...