काठमाडौं- बाटो माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै अहिले सडक सञ्चालनमा आएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शनिबार पनि उक्त स्थानमा पहिरो खस्दा रातभर बाटो अवरुद्ध भएको जनाएको छ। शनिबार बेलुका ७:४० बजे खसेको पहिरो आइतबार बिहान ४:१५ बजे पन्छाइसकिएको थियो।
त्यसपछि दुवैतर्फ रोकिएका सवारी सञ्चालनमा आएका थिए। तर, बिहान ४:४८ बजे फेरि पहिरो खसेर दुवैतर्फको बाटो अवरुद्ध भएको थियो।
पुन: पहिरो पन्छाएसँगै दुवैतर्फ रोकिएका सवारी साधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ।