बुुटवल- नेकपा एकीकृत समाजवादीकी सचिव एवम् सहरी विकासमन्त्री रामकुमारी झाक्रीले गलत पात्र र प्रवृत्तिलाई परास्त गर्ने मौका आएको बताएकी छन्। आसन्न स्थानीय तहको निर्वाचनले संसद विघटन गर्ने एमालेलाई परास्त गर्ने दावीसमेत गरिन्।
पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायमूर्तिका रुपमा रहेका मतदाताले आफ्नो सचेतनापूर्ण गठबन्धनका उम्मेदवारलाई दिने विश्वास व्यक्त गरिन्। एमालेतर्फ लक्षित गर्दै सचिव झाँक्रीले पटकपटक भोट हालेर नेतृत्वमा पुर्याउँदा पनि सुुुकुम्बासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या 'ज्युँका त्युँ' राख्ने दललाई चिन्ने बेला आएको बताइन्। उनले गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरु परिवर्तनकारी हुन नसक्ने उल्लेख गर्दै भनिन्, ‘प्रश्न गर्न नसक्ने मान्छे र भजनमण्डलीले परिवर्तनको लागि काम गर्न सक्दैन।'
‘स्याटलाइटबाट आकाश किन्ने कुरा, चन्द्रमामा भर्याङ लगाउने, चुच्चे रेल ल्याउने, सुन्दै रोमाञ्चक बनाउने कथाहरुले जनताको भोको पेट भरिदैन,’ एमाले र त्यसका अध्यक्ष ओलीमाथि खनिएकी उनले भनिन, ‘यी सबै कामहरु पूववर्ती केपी ओलीको सरकारले गर्यो, त्यसैले हामीले त्यस्ताे विचारलाई परास्त गर्नैपर्छ।’ उनले यीनै प्रवृत्ति परास्त गर्न गठबन्धनको आवश्यकता भएकाे बताइन्।
आमसभालाई नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य चक्रपाणि खनाल बलदेवले गठबन्धन सनकी शासकका विरुद्ध भएको बताए। आगामी केही वर्षसम्म संविधान कार्यान्वयनका लागि गठबन्धन कायम गर्नुपर्ने बताए। सभालाई राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, जनता समाजवादीका केन्द्रीय सदस्य नवराज सुवेदीले सम्बोधन गरेका थिए।