वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट प्रहरीले विभिन्न प्रकारका लागूऔषध ८७३ एम्पुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा–१० वर्ष २२ को असरफ अली रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
वीरगन्जको रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा हातमा मोबिलको डिब्बा बोकी शङ्कास्पदरूपमा भारत, रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले लागूऔषधसहित अलीलाई पक्राउ गरेको थियो।
अलीको साथबाट भेटिएको उक्त मोबिलको डिब्बामा लागूऔषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको थियो।
पक्राउ परेका अलीलाई लागूऔषध कसुरसम्बन्धी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।