काठमाडौं- सामाजिक सुरक्षा कोषले गत जेठ र असार महिनाको योगदान बापतको रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ।
रोजगारदाताका तर्फबाट जम्मा गर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताका तर्फबाट जम्मा गर्नुपर्ने ११ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो।
करीब १ लाख ३० हजार योगदानकर्ताको खातामा रकम जम्मा गरिएको कोषले जनाएको छ। चालू आर्थिक वर्षको बजेटमार्फत कोषमा योगदान गर्ने योगदानकर्ताको जेठ र असार महिनाको योगदान बापतको रकम सरकारका तर्फबाट जम्मा गर्ने घोषणा गरिएको थियो।
कोरोना महामारीका कारण रोजगारदाता र श्रमिक प्रभावित भएको भन्दै २ महिनाको योगदान रकम सरकारले नै व्यहोर्ने निर्णय गरेको थियो। सरकारबाट प्राप्त १ अर्ब ६ करोड सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गरिएको छ। कोषले बजेटमा उल्लेख गरेअनुसार योगदानकर्ताको खातामा जम्मा गर्न १ अर्ब ३२ करोड माग गरेको थियो।
हाल जम्मा हुनुपर्ने योगदान रकमको ८४ प्रतिशत जम्मा गरिएको र बाँकी १६ प्रतिशत निकासा प्राप्त भएपछि जम्मा गरिने कोषले जनाएको छ। अपुग रकम छिट्टै निकासा गरिने अर्थ मन्त्रालयबाट जानकारी आएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए।
पछिल्लो ६ महिनामध्ये न्यूनतम रकम जम्मा भएका आधारमा योगदानकर्ताको खातामा रकम जम्मा गरिएको छ।
यसअघि पनि सरकारले ४ महिनाको योगदान बापतको रकम योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो। पछिल्लो २ वर्षको अवधिमा सरकारले २ पटक गरेर ६ महिनाको योगदान रकम योगदानकर्ताको खातामा दाखिला गरिदिएको छ।
कोषमा हालसम्म १७ हजार ७४ रोजगारदाता र ३ लाख ३२ हजार ९५ योगदानकर्ता सूचीकृत भएका छन्। कोषमा १६ अर्ब ३४ करोड रुपैयाँ योगदान संकलन भएको छ। कोषले विभिन्न सुविधा योजनाअन्तर्गत १ अर्ब १५ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
जसअन्तर्गत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधाबापत १६ करोड ७७ लाख, दुर्घटना तथा अशक्तता सुरक्षाबापत १ करोड ५६ लाख, आश्रित परिवार सुरक्षाबापत २ करोड ७५ लाख र अवकाश दाबीबापत ९४ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको छ।