बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दैनिक रन वे टालेर कहिलेसम्म चलाउने अन्तर्राष्ट्रिय विमानस्थल?

दैनिक रन वे टालेर कहिलेसम्म चलाउने अन्तर्राष्ट्रिय विमानस्थल?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग दैनिकजसो उप्किन्छ अनि भत्किन्छ। अझ वर्षायाममा यो समस्या झनै चर्को हुन्छ। टाल्न वा मर्मत भन्दै दैनिकजसो नै कुनै न कुनै बेला विमानस्थल बन्द गर्नुपर्ने हुन्छ।

गत शुक्रबार यही कारण दुई पटक मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्‍यो। धावन मार्गमा चिरा परेर एक घण्टा अवरुद्ध भएको विमानस्थल खुलेको केही समयपछि फेरि बन्द गर्नुपर्‍यो। कारण थियो, राम्रोसँग भत्केको पिच मर्मत गर्नुपर्ने। बिहान १०ः४० मा बन्द भएको विमानस्थल आकाशमा होल्ड गरेका विमानलाई अवतरण गराउन  सवा एघार बजे खुलाइयो।

काम नसकिएपछि पुनः सवा १२ बजे उडान/अवतरण बन्द गरेर धावनमार्ग टालिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर बताउँछन् र धावनमार्ग मर्मत गरेर एक बजेपछि उडान शुरु गराइएको थियो। 

धावनमार्ग चिरा परेपछि अवतरणको तयारीमा रहेका थुप्रै जहाज एक घण्टा आकाशमै घुमिरहे। चालक दल र यात्रु दुवैलाई तनाब भयो भने विमानस्थलमा पनि दौडधुप चल्यो।

प्रवक्ता ठाकुर भन्छन्, 'यो दैनिकजसो आइपर्ने समस्या हो। हामी त हैरान भइसकेका छौं।' उनका अनुसार यो मौसममा दैनिक पाँच पटकसम्म विमानस्थल बन्द गर्नुपरेको छ। धावनमार्ग टालटुल पार्न प्राविधिक टोलीलाई सधैं तयारी अवस्थामा राख्नुपर्ने हुन्छ। 

सन् १९८० मा निर्माण गरिएको विमानस्थलको धावनमार्ग आन्तरिक उडानका लागि साना विमानलाई लक्षित गरी बनाइएको थियो। सन् २०१३ देखि धावनमार्ग उप्किने समस्या शुरु भएको हो। ठाकुर भन्छन्, 'टालटुल गर्दै अहिलेसम्म चलेको छ।' 

अहिले धावनमार्गमा सयौं पत्र रहेको विमानस्थलका सिभिल इन्जिनियरिङ प्रमुख मुरारीप्रसाद भण्डारी बताउँछन्। 'टाल्दै, पत्र थप्दै गर्दा झन् समस्या बढेको छ। यसलाई पूरै भत्काएर नयाँ ढलान र पिच गर्नुपर्छ,' भण्डारी भन्छन्। 

उनका अनुसार दैनिकजसो धावनमार्ग टाल्नुपर्ने समस्या छ। 'यसरी दैनिक टालेर कहिलेसम्म चलाउने ?' इन्जिनियर भण्डारी भन्छन्, 'धावनमार्गको अवस्था एकदमै जीर्ण छ। भित्री भाग कमजोर बनेको छ। टालटुलले मात्र यो समस्या दीर्घकालीन समाधान हुन सक्दैन।' अहिले शरीरभित्रको घाउको उपचारका लागि बाहिर छालामा मलहम लगाएजस्तो मात्रै भइरहेको उनको भनाइ छ।
 

'धावनमार्गको अवस्था एकदमै जीर्ण छ। भित्री भाग कमजोर बनेको छ। टालटुलले मात्र यो समस्या दीर्घकालीन समाधान हुन सक्दैन।'

 
कति भार छ विमानस्थलमा ?

विमानस्थलमा दैनिक ९० अन्तर्राष्ट्रिय विमानको उडान/अवतरण हुने गर्छ। यस्तै, दैनिक आन्तरिकतर्फ पनि तीन सयभन्दा बढी जहाजको उडान/अवतरण हुने गर्छ। 

अधिकांश विदेशी एयरलाइन्सले बढी भार क्षमताका विमान प्रयोग गर्न थालेका छन्। त्यसका कारण पनि त्रिभुवन विमानस्थलको धावनमार्ग जीर्ण बन्दै गएको छ। 

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पका कारण केही जीर्ण बनेको विमानस्थल उद्धारमा आएका ठूला र कार्गो विमानका कारण थप जीर्ण भएको थियो। 

दैनिक २० उडान क्षमताको धावनमार्ग छ। अहिले दैनिक चार सयसम्म उडान/अवतरण हुने गर्छ। स्तरवृद्धि नभएकाले यो समस्या जटिल बन्दै गएको विमानस्थलको प्राविधिक टोलीले जनाएको छ। 

धावनमार्ग बनाउन प्रयोग गरिने पदार्थ मौसमका कारण उप्किने गरेको बताउँदै इन्जिनियर भण्डारीले धावनमार्गको तापक्रमका कारण पनि उप्किने गरेको दाबी गरे। उडान र अवतरणका क्रममा ठूला विमानबाट उत्पन्न हुने चापले यो समस्या दोहोरिने गरेको बताउँदै इन्जिनियर भण्डारीले बृहत पुनर्निर्माण नभएसम्म समस्या समाधान हुने बताए। 

कसरी थाहा हुन्छ धानवमार्ग उप्किएको ?

विमानस्थलको धावनमार्गको अध्ययनका लागि प्रभावकारी कदम चालिएको छैन। जीर्ण भएको धावनमार्गको जानकारी पाइलटले नागरिक उड्डयन प्राधिकरणलाई दिएपछि मात्र टाल्ने काम शुरु हुन्छ। 

विमानस्थलमा उडान र अवतरण गर्ने पाइलटले धावनमार्गको जानकारी गराएपछि एक फिटसम्म टालिने गरेको छ। पाइलटले धावनमार्गबाट उडान र अवतरण गर्दा कठिन परिस्थिति आउने आकलन गरेपछि मात्रै प्राधिकरणलाई जानकारी गराउने गरेका छन्। 

विमानस्थलको धावनमार्गमा उप्किएर बाहिर निस्किएको टुक्रा उड्न लागेको तथा अवतरण हुन लागेको विमानमा ठोक्किएर आगो लाग्नेसम्मको खतरा हुने गर्छ। यही खतराबाट जोगिनका लागि विमानस्थलले सकेसम्म चाँडो बन्द गरेर धावनमार्ग टाल्ने काम गर्ने गर्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।