काठमाडौं- सात महिनापछि व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको नेपाल टेलिकमको स्काई फोन सेवा पुनः सञ्चालन भएको छ। नेपाल टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङ आफैँ छाङ्गरु पुगेर टेलिफोन सेवा पुनः सञ्चालनमा ल्याएका हुन्।
मङ्गलबार कार्यालय प्रमुख गुरुङसहितको टोली भारतको बाटो भएर छाङ्गरु गएको थियो। व्यासमा स्काई टेलिफोन टावर सञ्चालन भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए।
'स्काई फोन सञ्चालन गरिएको छ, स्थानीय तह निर्वाचनका लागि भए पनि प्रभावकारी टावर सञ्चालनमा ल्याउनुपर्ने बाध्यता छ। यसअघि सशस्त्र प्रहरीको भिस्याटमार्फत दुई वटा ल्याण्डलाइन प्रयोगमा आएका थिए,' उनले भने।
सो स्थानमा टावर सञ्चालनमा ल्याउनका लागि व्यास–४ कैचुलामा रहेको टावरलाई ब्रह्मलेकमा सारिएको थियो। ब्रह्मलेकबाट छाङ्गरु देखिने भएकाले डिभाइस जडानका लागि ब्रह्मलेकमा रिपिटर स्टेसन राखिएको गुरुङले बताए। । छाङरुको ज्याक्तिडाँडामा टेलिकमको नयाँ रिपिटर स्टेशन राखेर सेवा सञ्चालन गरिएको छ। छाङ्गरुमा रहेको नमस्ते टावर अझै सञ्चालनमा आउन समय लाग्नेछ। उपकरण नपुगेको कारण फोरजी सेवासहितको नमस्ते टावर सञ्चालनमा आउन नसकेको गुरुङले जानकारी दिए।