काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन भन्दा प्रतिगमन बलियो भएको टिप्पणी गरेका छन्। राजधानीको शान्तिवाटिकमा सत्ताधारी गठबन्धनले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले गठबन्धनको अर्थ सबै कुरामा एकैठाउँ उभिने भन्ने कुरा नभएको बताएका छन्। 'पाँच दलभित्र असन्तुष्टि छ, विरोध छ। यहाँ पार्टीभित्रै त कुरो मिल्दैन। अनि विचार फरक भएका पार्टीसँग केही न केही फरक परिहाल्छ नि! गठबन्धन भनेकै मिलेको कुरामा मात्रै मिलेर जाने हो,' उनले भने।
पञ्चायत विरोधी आन्दोलनमा र ०६२–०६३ को आन्दोलनमा गठबन्धन नगरेको भए प्रतिगमनले घुँडा नटेक्ने बताएका उनले गठबन्धनको आवश्यकता अझै रहेको दाबी गरेका थिए। 'अहिले पनि हिजोका उपलब्धि सकिने डर देखेपछि वाम शक्ति र प्रजातान्त्रिक शक्ति मिल्नुपरेको हो,' उनले भने।