सोमबार, साउन २५, २०८३

तिंकरका स्थानीयवासी गाउँ पुगे, प्रहरी सदरमुकाममै

व्यास गाउँपालिका–१ तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन्। छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन्। तर तिङ्करको छायालेकमा बस्दै आएको नेपाल प्रहरी अझै सदरमुकाम खलङ्गामै छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

दार्चुला- व्यास गाउँपालिका–१ तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन्। छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन्। तर तिङ्करको छायालेकमा बस्दै आएको नेपाल प्रहरी अझै सदरमुकाम खलङ्गामै छ। 

व्यासी सौका समुदाय सदरमुकाम खलङ्गाको गर्मी छल्न गाउँ पसेका हुन्। गत मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिङ्करीको ताला छ महिनापछि खुल्न थालेको छ। 'पाँच परिवार तिङ्कर पुगिसकेका छन्,' स्थानीयवासी दानसिंह तिङ्करीले भने, '३५ परिवार खलङ्गाबाट मङ्गलबार हिँडेका छन्, उनीहरु बाटोमा छन्।' सदरमुकाम खलङ्गाबाट पाँचदेखि छ दिनमा तिङ्कर गाउँ पुगिन्छ। 

भारतीय प्रशासनको अनुमति लिएर स्थानीयवासी हिमाल उक्लिएका हुन्। खलङ्गाबाट पहिलो दिन दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुँदी, पाँचौँ दिन छाङ्गरु र छैठौँ दिन तिंकर पुगिन्छ। 

पशुचौपायासहित कुञ्चा सर्दा छ दिन लाग्छ। स्थानीयवासी अहिले पाँच÷छ घण्टामै गाडीमा गाउँ पुग्छन्। भारतीय प्रशासनले अनुमति दिन ढिलाइ गर्दा यो पटक बसाइँसराइ केही ढिलो भएको स्थानीयवासी बताउँछन्। गाउँ फर्किएपछि तरकारी बाली भित्र्याउने काम हुन्छ। साथै जेठमा यार्सागुम्बा सङ्कलनको काम हुने भएपछि उनीहरु गाउँ फर्किएका हुन्।

तिङ्कर गाउँ चीनको सीमा नजिकैको गाउँ हो। तिङ्कर गाउँभन्दा आधा घण्टामाथि नेपाल प्रहरी बस्छ। छायालेकबाट चारदेखि पाँच घण्टाको दूरीमा नेपाल–चीन १ नम्बर सीमास्तम्भ छ। 

स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गा र छ महिना छाङ्गरु तिङ्कर बस्छन्। यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा छ महिना मात्रै छायालेक बस्ने गर्छ। स्थानीयवासीको बसाइँ सरेसँगै खलङ्गा झरेका नेपाल प्रहरी स्थानीयवासी गाउँ पुग्दा पनि सदरमुकाम खलङ्गाबाट माथि उक्लिन सकेको छैन।

प्रहरीको छ महिनाको रासन, हातहतियार पनि लिनुपर्ने भएको हुँदा हेलिकप्टर माग गरिएको उपरीक्षक विष्ट बताउनुहुन्छ। विगतमा पनि हेलिकप्टरमार्फत पठाउने गरिएको छ। प्रहरीलाई वैशाख २७ गतेअगावै पठाउने गरी पहल भइरहेको छ। छाङ्गरुमा भने गत वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी वर्षभरि बस्दै आएको छ। 

यस्तै सशस्त्र प्रहरी पनि छाङ्गरुमै छ। गत वर्ष सशस्त्र प्रहरीको छायालेकमा बोर्डर आउट पोष्ट (बिओपी) भवन निर्माण गरिएको छ। तर अहिलेसम्म सशस्त्र प्रहरीलाई खटाउनेबारेमा निर्णय नभएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: May 05, 2022| 23:15 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।