काठमाडौं- हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सहमति भएको छ। दुवै कम्पनीका अधिकारीले मर्जरमा जाने समझादारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन्।
एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिलमायन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले आज समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
दुई कम्पनीका सञ्चालक समितिका सदस्यहरुका बीचमा छलफल पश्चात भएको हस्ताक्षर कार्यक्रममा एभरेष्ट इन्स्योरेन्स कम्पनीमा मुख्य शेयर होल्डर खेतान ग्रुपका राजेन्द्र खेतान समेत उपस्थिति थिए।
बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि उनीहरू मर्जरमा जान लागेका हुन्। सम्झौता भएसँगै अब दुई कम्पनीले गाभिनुको उद्देश्य, वित्तीय विवरणसहितको लेखापरिक्षकको प्रतिवेदन, साहुहरुको हित सुरक्षार्थ गरिएको व्यावस्था, बीमकको सम्पत्ती र दायित्व भुक्तानीको अवधि कर्मचारी व्यावस्थापन सहित दुई कम्पनीले गरेको सम्झौतापत्र लिएर बिमा समितिमा निवेदन दिने छन्।
सो पश्चात दुवै समितिले मर्जरका लागि सैद्धान्तिक सहमति दिने छ। समितिको स्वीकृत पश्चात पुन कम्पनीहरुले साधारण सभाबाट विशेष प्रस्ताव पारित गरि मर्जतको लागि अन्तिम स्वीकृतीको निम्ती पुनः समितिमा निवेदन दिने छ।