काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। पछिल्लो एक सातादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से साताभरमा १३७.५२ अंकले घटेको छ।
बिहीबार पनि नेप्से ३७.०६ अंकले घटेर २२३८.६२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८७ अंकले घटेको छ।
बिहीबार कारोबारमा आएका २३२ कम्पनीको ४६ लाख ७४ हजार कित्ता सेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ। जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ। बैंकिङ, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
कारोबारमा आएका २३२ कम्पनीमध्ये ८ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा बिहीबार जाल्पा लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता मैलुङ खोला जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।