काठमाडौं– चौधरी ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक कार आयात गर्ने भएको छ। नेपालको पुरानो औद्योगिक तथा व्यावसायिक घराना चौधरीको सीजी ग्रुपले ‘नेटा भी’ पहिलो पटक आयात गर्न लागेको हो।
सीजी ग्रुपको ‘सिजी मोटर’ले चीनमा सन् २०१४ मा स्थापित ‘होजन अटो न्यू इनर्जी भेइकल कम्पनी’बाट उक्त कार ल्याउन लागेको हो। यसको जानकारी चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले केही दिनअघि सामाजिक सञ्जाल ट्विटमार्फत सार्वजनिक गरेका थिए।
उनका अनुसार अहिले नेपाली बजारमा सबैभन्दा चल्तीको मोडल ‘सबफोर मिटर एसयूभी’ हो। साथै, ट्याक्सीको रुपमा बिक्री गर्न नेटा एस मोडल पनि आउन सक्छ। सीजीले ल्याउने भनेको नेटा भी आकर्षक सीयूभी हो। यो कारको लम्बाइ ४०७० एमएम, चौडाइ १६९० एमएम र उचाइ १५४० एमएमको रहेको छ।
कारको ह्वीलवेस २४२० एमएमको रहेको छ भने, ग्राउण्ड क्लियरेन्स १६० एमएम छ। ग्राउन्ड क्लियरेन्स बाहेक यसको साइज, ब्याट्री लगायतमा सिधा प्रतिस्पर्धा टाटा नेक्सन इभीसँग हुने देखिन्छ।
त्यस्तै गाडीमा दुवै साइडमा चार्जिङ पोर्ट दिइएको छ। एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ। आकर्षक इन्टेरियर रहेको नेटा भीमा टेस्लाको जस्तो भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ।
यसमा दिइएको साँचोमा पनि फरक डिजाइन छ। स्पीनर समेत रहेको गोलो सेपको साँचो, दुबै साइडमा फ्ल्याट रहेको स्टेरिङ ह्विल रहेको छ। यसको स्टेरिङ ह्विल स्पोर्टस कारबाट प्रेरित रहेको देखिन्छ। यो कारमा ड्राइभर इन्फर्मेसन डिस्प्ले पनि अन्य कारको जस्तो स्टेरिङ ह्विलको पछाडि नभई ड्यासबोर्ड भन्दा माथि लामो स्लिक डिजाइनको फुल्ली डिजिटल छ। गियर सिफ्ट बटम स्टेरिङ ह्विलसँगै राखिएको छ। क्याबिनका लाइटहरु टच सिस्टमबाट अन–अफ गर्न सकिन्छ।
कम्पनीले यसलाई दुई थरी मोटर र ब्याट्री प्याकमा ल्याएको छ। यसमा सानो ३१.१८ किलोवाट आवरको ब्याट्रीसँगै ४० किलोवाटको मोटर रहेको छ। यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ।
त्यसैगरी यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर छ। यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने कम्पनीको वेबसाइटमा उल्लेख छ। यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
जीजीयाङ प्रान्तमा रहेको यो कम्पनीको आरएण्ड डी सेन्टर क्यालीफोर्नियाको सिलीकन भ्याली र डिजाइन सेन्टर बेइजिङमा रहेको छ। कम्पनीले सन् २०१७ मा पहिलो कन्सेप्ट कार देखाएको थियो। जसलाई सन् २०१८ मा नेटा एन जीरो वानको नामबाट ल्याएको थियो। कम्प्याक्ट एसयूभी डिजाइनमा पहिलो गाडी ल्याएको कम्पनीले सन् २०१९ मा नेटा यू मोडल र सन् २०२० मा ४ मिटर हाराहारीको सीयूभी नेटा भी लन्च गरेको थियो। कम्पनीले सन् २०२१ मा कम्प्याक्ट सेडान नेटा एस पनि लन्च गरिसकेको छ।
विगत ४ वर्षमा लगातार चारवटा मोडल उत्पादन गरेको कम्पनीले आफ्नो बजार विस्तार तीव्र गतिमा गरेको देखिन्छ। अहिले कम्पनीसँग भएको गाडीको रेन्ज हेर्दा सुरुमा चार मिटर हाराहारीको छोटो नेटा भी नेपाल आउने सम्भावना बढी छ।