सोमबार, वैशाख २४, २०८१

इटहरी उपमहानगर : विरासत जोगाउने चुनौतीमा एमाले, कांग्रेसलाई मौका

'३२ वर्षसम्म एकछत्र रुपमा राज गरेको एमालेले इटहरीको विकास गर्न सकेन, अब इटहरीको विकासका लागि नयाँ दल चाहिएको छ, इटहरीलाई महानगर बनाउन कांग्रेसको अवश्यकता छ। त्यसैले पनि यसपटक कांग्रेसको जित आवश्यक छ।'
 |  बिहीबार, वैशाख २२, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- देशभरका विभिन्‍न जिल्लाजस्तो सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि दलहरुले चुनावी नतिजा आफ्नो पोल्टामा पार्न मतदाता फकाउने क्रमलाई तीव्रता दिइरहेका छन्। २०४६ सालदेखि यताका निर्वाचनहरुमा लगातार विजयी हुँदै आएको एमालेले यसपटक पनि विरासत जोगाउँला कि गुमाउँला भन्‍ने कुरालाई निकै चासोका साथ हेरिएको छ। 

triton college

वैशाख ३० गते हुने निर्वाचनका लागि इटहरीमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका हेमकर्ण पौडेललाई मेयरको उम्मेद्‌वार बनाइएको छ भने उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार विष्ट मैदानमा छन्। त्यस्तै एमालेले मेयरमा यामकुमार सुब्बालाई अगाडि बढाएको छ भने उपमेयरमा संगिता चौधरीको उम्मेदवारी रहेको छ। 

यसअघि जनता समाजवादी पार्टीले मेयर र उपमेयरमा छुट्टाछुट्टै उम्मेद्वारी दर्ता गराएपनि सोमबार सत्तारुढ गठबन्धनमा आवद्ध हुने निर्णय गरेको छ। जसपाले मेयर र उपमेयरमा दिएको उम्मेदवारी फिर्ता लिँदै गठबन्धनका उम्मेदवारलाई सघाउने र वडा तहमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। 

जसपाबाट मेयरमा डिल्लीप्रसाद सुब्बा र उपमेयरमा योसा गुरागाईँले उम्मेदवारी दिएका थिए। योसँगै नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रसहितको गठबन्धनमा जसपा पनि सामेल हुने भएको हो। ३२ वर्षदेखिको विरासतलाई निरन्तरता दिने एमालेको दाबी छ। अर्कोतर्फ २०७४ को निर्वाचनमा २ हजार ७०४ मतले पराजय बेहोरेको कांग्रेसले यसपटक गठबन्धनका कारण विगतको बदला फर्काउने योजनामा छ। 

२०७४ को निर्वाचनमा इटहरीका २० वटा वडामध्ये ८ वटा वडामा वडाध्यक्षसहित एमालेबाट द्वारिकलाल चौधरी मेयर र लक्ष्मी गौतम उपमेयर निर्वाचित भएका थिए। यसपटक पनि चौधरी र गौतम इटहरीको मेयरका लागि आंकाक्षी भए पनि उनीहरुलाई एमालेले दोहोर्‍याएन। मेयर चौधरीका विवादित अभिव्यक्ति, अमर्यादित बोलीले पार्टीको छविमा असर पारेको विश्लेषण गर्दै उनलाई यसपटक टिकट नदिइएको एमालेवृतमा नै चर्चा चलिरहेको छ। चौधरीले आफुले टिकट नपाएपछि आफ्नै निकटका व्यक्तिलाई पनि सार्वजनिक रुपमा नकारात्मक अभिव्यक्ति दिएका थिए। 

corrent noodles
Metro Mart

चौधरीले ल्याएको ०७४ को चुनावी परिणामका कारण यसपटक पनि  एमालेले चौधरी समुदायलाई छुटाएको छैन। यसपटक थारु समुदायको भोट तान्‍नका लागि संगिता चौधरीलाई उपमेयरमा अघि बढाएको छ। 

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार पौडेलले  एमालेको बर्चस्व रहेको जनता क्याम्पसमा नेपाल विद्यार्थी संघका तर्फबाट सभापति जितेका थिए। त्यसपछि इटहरीको राजनीतिमा उनी  निरन्तर छन्। नेपाली कांग्रेसमा तीन कार्यकालसम्म इटहरी नगर सभापति भएसकेका उनी  गत वर्ष पनि मेयरका आकांक्षी थिए। तर रोहित प्रसाइले टिकट पाएका थिए। यसपटक टिकट पाएका पौडेलले गठबन्धनको साथ र एमाले विभाजनको फाइदा उठाउने पक्षमा छन्। 

'३२ वर्षसम्म एकछत्र रुपमा राज गरेको एमालेले इटहरीको विकास गर्न सकेन, अब इटहरीको विकासका लागि नयाँ दल चाहिएको छ, इटहरीलाई महानगर बनाउन कांग्रेसको अवश्यकता छ। त्यसैले पनि यसपटक कांग्रेसको जित आवश्यक छ।'

साथै राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव केशव विष्ट उपमेयरको उम्मेद्वार भएकाले एमालेको भोट पनि तान्‍न सकिने कांग्रेसका नगर सचिव शिवराज दाहाल बताउँछन्। विष्ट पहिला एमालेका नेता हुन्। विष्टले व्यक्तिगत रुपमा पनि धेरै भोट पाउने कांग्रेसको अपेक्षा छ। इटहरीका नगरसचिव दाहाल भन्छन्, ‘३२ वर्षसम्म एकछत्र रुपमा राज गरेको एमालेले इटहरीको विकास गर्न सकेन, अब इटहरीको विकासका लागि नयाँ दल चाहिएको छ, इटहरीलाई महानगर बनाउन कांग्रेसको अवश्यकता छ। त्यसैले पनि यसपटक कांग्रेसको जित आवश्यक छ।’ 

यसअघिका निर्वाचनमा पराजित भएको कांग्रेस यसपटक भने गठबन्धनको बलमा जीत्‍ने दाउमा देखिन्छ। साथै वर्तमान मेयर द्धारीकलाल चौधरीका सार्वजनिक अभिव्यक्ति र एमालेको विभाजनलाई कांग्रेसले जितको आधार देखेको छ। नगर सचिव दाहाल भन्छन्, ‘इटहरीमा यति लामो समयमा नेतृत्व गर्दा पनि एमालेले इटहरीको मुहार फेर्न असफल भयो। स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासले गति लिन सकेको छैन, त्यसैले इटहरीका जनता नै परिवर्तनको पक्षमा छन्। अन्य दलका साथीहरुले पनि एमालेको शैली शुद्धिकरण गर्नका लागि पनि एमालेकै कार्यकर्ताहरु पनि भित्रभित्रै लागिरहेका छन्।’

उता इटहरीमा विगतमा एमालेको तर्फबाट नेतृत्व गरेका सर्वध्वज साँवा र द्वारिकलाल चौधरीको साख जोगाउन सुब्बाले सक्लान् की नसक्लान् भन्ने चासोको रुपमा हेरिएको छ। सुब्बा ०६१ सालमा इटहरी नगर कमिटी सदस्य हुँदै २०६९ सालमा नगर अध्यक्षमा निर्वाचित भएका थिए। त्यसयता सुब्बाकै नेतृत्वमा इटहरीको एमाले अगाडि बढेको छ।  

सुब्बाले इटहरीलाई डुबान, कटान र बाढीको समस्याबाट मुक्त गराउने घोषणा गरेका छन्। इटहरी एमालेले सुविधा सम्पन्‍न सभाहल, आधुनिक क्रिकेट मैदान, विभिन्‍न ठाउँमा खुल्ला व्यायामशाला सहितका पार्क, इटहरी अस्पताललाई ट्रमा सेन्टरसहितको सुविधासम्पन्न अस्पताल बनाउने योजनाका साथ अगाडि बढेको छ। ४५ वर्ष लामो राजनीतिक अनुभव भएका सुब्बाको सामाजिक क्षेत्रमा पनि लगाब भएका कारण उनले व्यक्तिगत रुपमा पनि भोट तान्‍नसक्ने एमालेको आँकलन छ।  

एमालेका उम्मेदवा याम सुब्बा भने इटहरी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन्। अघिल्लो नेतृत्वले सुरु गरेका कामलाई निरन्तरता दिन पनि आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन्। इटहरी निर्माणका लागि आफ्नो भिजन क्लियर भएकाले त्यसलाई व्यवहारमा उतार्नका लागि एमालेले जित्‍नैपर्ने उनको दाबी छ। 

कांग्रेसभित्रै शंका 

कांग्रेसले जुन विश्वासका साथ जित्‍ने दाबी गरेपनि इटहरी कांग्रेसमा एकरुपता देखिँदैन। अघिल्लो निर्वाचनमा आफूले टिकट नपाएपछि हेमकर्ण पौडेल सन्तुष्ट थिएनन्। कांग्रेसभित्रै असन्तुष्ट भएपछि त्यसपछिको नगर अधिवेशनमा प्रतिष्पर्धा भएको थियो। अधिवेशनमा विकास केसीलाई पौडेलले हराएका थिए। जसले गर्दा हेमकर्णलाई आफ्नै पक्षबाट पनि साथ नमिल्न सक्ने आशंका गरिएको छ। 

अर्कोतर्फ गठबन्धनमा प्रमुख पदमा महिला नउठाएको प्रति असन्तुष्टि देखिएको छ। विशेष गरी कांग्रेसका महिला नेताहरु उपमेयर पनि समाजवादीलाई दिएर नकरात्मक सन्देश दिएको बताउँछन्। जसले निर्वाचनको परिणामलाई समेत असर गर्ने उनीहरु बताउँछन्।  

गठबन्धनका नाममा महिलाको हक खोसीएको महिलाहरुको आरोप छ। संविधानले नै स्थानीय तहको दुइ प्रमुखपद मध्ये एउटामा महिला हुनुपर्ने व्यवस्था गरेपनि इटहरीमा महिलाको हक खोसिएकोप्रति महिलाहरु सन्तुष्ट छैनन्। ५० प्रतिशत भन्दा बढी महिला मतदाता भएको इटहरीमा गठबन्धनले प्रमुख र उपप्रमुख दुवैमा पुरुष उम्मेद्दार बनाएको छ। इटहरीको कुल जनसंख्याको ३० प्रतिशत भन्दा बढी थारु समुदाय रहेको र थारु समुदाय बाहेक प्रभाव पार्ने मत जनजाती समुदायको हो तर गठबन्धनले त्यता ध्यान नदिँदा पनि कांग्रेसलाई घाटा लाग्‍नसक्ने विश्लेषण गरिएको छ। 

एमालेले भने यसको फाइदा लिन सक्ने देखिएको छ। एमालेले उपप्रमुखमा थारु समुदायबाट संगीता चौधरीलाई अगाडि सारेको छ। यद्पि  प्रमुख पदका लागि पार्टीभित्र देखिएको अस्वस्थ प्रतिस्पर्धाले पनि एमालेलाई घाटा हुन सक्ने टिप्पणी गरिएको छ। इटहरीका वर्तमान प्रमुख द्वारिकलाल चौधरीले पछिल्लो समय एमालेकै नेताहरुलाई सार्वजनिक मञ्चबाट विरोध गरिरहेका छन्। प्रभावशाली नेतालाई उम्मेदवार नबनाई नगर अध्यक्षलाई उम्मेदवार बनाउँदा केही कार्यकर्ता तथा नेताहरु रुष्ट छन्। एमालेको केही कमजोरीले कांग्रेसलाई इतिहास बनाउने मौका हुन सक्छ। 

२०७४ को स्थानीय निर्वाचनमा ७७ हजार ६९७ मतदाता रहेको इटहरी उपमहानगरपालिकामा यस पटक  २८ हजार नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनको मतपरिणाम हेर्ने हो भने ५२ हजार ५२२ भोट खसेकोमा कांग्रेसका उम्मेदवार रोहित प्रसाई जम्मा २ हजार ७०४ मतले मात्रै एमालेभन्दा पछाडि परेका थिए। एमालेका चौधरीले २२ हजार ६८९ र कांग्रेसका प्रसाईंले १९ हजार ९८५ मत प्राप्त गरेका थिए।

प्रकाशित: May 05, 2022| 07:42 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...