विराटनगर– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। गठबन्धनमा आँच आउने गरी काम नगर्न नेता–कार्यकर्तालाई उनले निर्देशन दिए।
देउवाले भने, ‘कांग्रेसले धोका दिँदैन भन्ने सन्देश दिनुस्। उचाल्ने–पछार्ने धेरै हुन्छन्, यस्ताको पछि नलाग्नु।’ गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह गरे। कांग्रेस नेतृत्वको सरकारले ६५ वर्षदेखि नै वृद्वभत्ताको प्रबन्ध गर्ने उनले बताए।
नेपाली कांग्रेस मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताए। परिवर्तनको रक्षा गर्न गठबन्धन आवश्यक भएको नेता पौडेलको भनाइ छ। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देशमा अस्थिरता ल्याएको उनले बताए।
कांग्रेसले जितेका स्थानीय तहमा राम्रो काम भएको नेता पौडेलको दाबी छ। विराटनगर राजनीतिको सन्देश दिने स्थान भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह गरे।
कांग्रेस नेता डा. शेखर कोइरालाले एमाले नेतृत्वको सरकारले जनतालाई दुःख दिनेमात्रै काम गरेको बताए। एमालेले संविधान मास्ने काम गरेको उनको भनाइ छ। स्थानीय तहको निर्वाचनले संघ र प्रदेशको निर्वाचनलाई इंगित गर्ने उनले बताए। गठबन्धनका उम्मेदवारलाई विजयी बनाएर लोकतन्त्रको संरक्षण गर्न उनले आग्रह गरे।
महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन जनताका लागि अवसर भएको बताए। आफ्नो गाउँ–नगर कस्तो बनाउने भन्ने जनताको हक भएकाले निर्वाचनमा सहभागी भएर अवसर नगुमाउन उनले आग्रह गरे। कांग्रेसले कमजोर भएर तालमेल नगरेको उनले प्रष्ट पारे। तालमेल संविधानलाई ठिक ठाउँमा ल्याउनका लागि भएको महामन्त्री शर्माले बताए।
चुनावी सभालाई नेताहरू महेश आचार्य, मिनेन्द्र रिजाल, सहमहामन्त्री डिना उपाध्याय, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली लगायतले सम्बोधन गरेका थिए।