बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गोल्छाको गुनासो– अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गरेर भ्रम फैलाउने काम भइरहेको छ

गोल्छाको गुनासो– अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गरेर भ्रम फैलाउने काम भइरहेको छ

नेपालको अर्थतन्त्रलाई श्रीलंकाको सँग तुलना गरेर नकारात्मक भ्रम फैलाउने प्रयास भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन्। नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो भइनसकेको उनको दाबी छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– नेपालको अर्थतन्त्रलाई श्रीलंकाको सँग तुलना गरेर नकारात्मक भ्रम फैलाउने प्रयास भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन्। नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो भइनसकेको उनको दाबी छ।

National life

सकारात्मक भन्दा नकारात्मक कुरालाई बढी प्रचार गर्दा अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि विग्रिएको उनले गुनासो गरे। कोभिडपछि उत्साहित भएको अर्थतन्त्रका कारण आयातले भुक्तानी सन्तुलन र विदेशी मुद्रामा दबाब बढाएको भएपनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। अर्थतन्त्रले खतराको संकेत गरेकाले समस्याको समाधान गर्नेतर्फ ध्यान हुनुपर्ने भए पनि श्रीलंकासँग तुलना गरेर नकारात्मक प्रचार गरेको उनले बताए।

‘नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्ने काम भइरहेको छ। तर त्यस्तो अवस्था छैन। ६ महिनालाई आयात धान्न पुग्ने हाम्रो विदेशी मुद्राको सञ्चिति छ। चालू खाता घाटा र शोधनान्तर घाटा हाम्रो चिन्ताको विषय हो। निजी क्षेत्र उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्न चाहन्छ। समस्या र चुनौतीको बारे हामी छलफल गर्न तयार छौं,’ उनले भने।

तरलता अभाव, भुक्तानी सन्तुलनको समस्या, उर्जाको समस्या र अन्तर्राष्ट्रिय मूल्यवृद्धि तथा आर्थिक संकटको असरले नेपालको अर्थतन्त्रमा परेको असर लगायतका ४ समस्या नेपालको अर्थतन्त्रले भोगिरहेकाले यसको समाधानतर्फ नीति निर्माताको ध्यान जानुपर्ने उनले बताए। कोभिड १९ ले ल्याएको संकट र रुस तथा युक्रेनबीचको युद्ध जस्ता अन्तर्राष्ट्रिय समस्याका कारण भुक्तानी सन्तुलनमा दबाब परेको उनको भनाइ छ। ‘कोभिडपछि अन्तर्राष्ट्रिय बजार चलायमान भएको र त्यसको असर नेपालमा पनि देखिँदा आयात निकै उच्च रुपमा बढायो। बढ्दो आयातले नेपालको भुक्तानी सन्तुलनमा असर पुग्न गयो,’ उनले भने।

भुक्तानी सन्तुलनको समस्या समाधान गर्नका लागि हाम्रा स्रोतहरुको पहिचान गर्नुपर्नेमा उनले जोड दिए। भुक्तानी सन्तुलनको असर विदेशी मुद्रा सञ्चितिमा पर्ने हुँदा त्यसलाई बढाउने मुख्य ५ वटा स्रोतको परिचालनलाई व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए। ‘अहिले मुख्य रुपमा रेमिट्यान्स कसरी बढाउने भन्नेतर्फ ध्यान दिनुपर्छ। विदेशमा गएका नेपालीहरुलाई रेमिट्यान्स नेपाल पठाउनका लागि प्रोत्साहन गर्नुपर्यो। तुलनात्मक लाभ हुने खालका वस्तुहरुको पहिचान गरी निर्यात प्रवद्र्धनमा सरकारले ध्यान दिन आवश्यक छ,’ उनले भने।

Shivam cement

त्यस्ता क्षेत्रहरुलाई सरकारले व्यापार सहजीकरण गर्ने, नीतिगत सुविधाहरु दिने, करमा सहुलियत दिने तथा पुनर्कर्जाको व्यवस्था गर्ने जस्ता कामहरु गर्नुपर्नेमा उनले जोड दिए। यसैगरी प्रत्यक्ष वैदेशिक लगानी आउन नसकेकाले नीतिगत रुपमा सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए। विदेशी लगानी भित्र्याउनका लागि सरकारले उचित वातावरण बनाउन नसकेको गुनासो गोल्छाले गरे।

नीति निर्माताहरुले निजी क्षेत्रको विकास गर्ने, आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरे पनि वातावरण निर्माण गर्न नसक्दा अर्थतन्त्रमा पछिल्ला समस्या देखिएको महासंघ अध्यक्ष गोल्छाको भनाइ थियो। 

सरकार जबसम्म उद्योग व्यवसायमैत्री बन्दैनm तबसम्म यस प्रकारका समस्या आइरहने उनले बताए। आन्तरिक उत्पादन प्रवद्र्धन नगर्ने तर आयातमा आधारित राजस्वमा मात्रै जोड दिने सरकारी नीतिका कारण यस्तो अर्थतन्त्रमा तनाव देखिएको उनको भनाइ थियो। 

वास्तविक समस्याबारे निजी क्षेत्र सरकारसँग हातेमालो गर्न चाहेको समेत उनले बताए। निजी क्षेत्रका केही व्यवसायलाई छोडेर अधिकांश क्षेत्रको ग्रोथ राम्रो रहेको र यो आर्थिक वर्षको बाँकी समयमा सम्पूर्ण क्षेत्रको पुनरुत्थान भइसक्ने उनको भनाइ छ। निजी क्षेत्रले हासिल गरेको यस्तो वृद्धिदर दिगो रहेको वा नरहेको ग्यारेन्टी भने गर्न नसकिने उनले बताए। निजी क्षेत्र र वाणिज्य बैंकहरुको स्वामित्व तथा संरचना भए पनि निजी क्षेत्र विरोधी हुनु अनुचित भन्दै गोल्छाले रोष प्रकट गरे। निजी क्षेत्र नेपालका बैंक तथा वित्तीय संस्थाको तरलताको मुख्य स्रोत भएको तथ्यलाई मनन गर्न सक्नुपर्नेमा गोल्छाको जोड थियो।

गोल्छा बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थिए।

प्रकाशित: May 04, 2022| 12:11 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्