बुटवल– बुटवलमा पाँचदलीय गठबन्धनले ‘समानता, स्वाभिमान र अवसर सहितको बस्नयोग्य बुटवल सहर’ भन्ने मूल नारा सहित संकल्पपत्र सार्वजनिक गरेको छ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी गठबन्धनले बुटवलमा नगर अस्पताल सञ्चान गर्नेदेखि कर घटाउनेसम्मको प्रतिबद्धता जनाएर संकल्पपत्र सार्वजनिक गरेको हो। पालिकाले लिँदै आएको घरवहाल कर, इरिक्सा सवारी कर, हाटबजार बैठकी कर र सिफारिस शुल्क घटाउने संकल्प उसले गरेको हो।
त्यस्तै निःशुल्क स्वास्थ्य विमा गर्ने, महिलाका लागि निःशुल्क सेनटरी प्याड उपलब्ध गराउने सकल्पमा भनिएको छ। त्यसैगरी बुटवल उपमहानगरमा २ वटा अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ। त्यस्तै बुटवल, सैनममैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर लगायतका पालिकाहरुको एकीकृत विकासका लागि बुटवल भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वय गर्ने संकल्पमा भनिएको छ।
साझा संकल्पपत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारीसाधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ।
बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ उम्मेदवार छन्। पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा. बालकृष्ण चापागाईं र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गर्दै आफूहरु बुटवलको समृद्धि र विकासका लागि गठबन्धन बनाएको दावी गरेका छन्।
बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउँदै साझा चौतारीका रुपमा विकास गरिने संक्ल्पमा भनिएको छ। त्यसैगरी मेयर युथ एडभाइजरी बोर्ड गठन गर्ने जनाइएको छ। पाँच दलले देशविदेशमा रहेका बुटवलका बुद्धिजीवि र व्यावसायिक व्यक्तिहरुलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नसक्ने बनाउनका लागि अनुसन्धानविद्हरु समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना अघि सारेका छन्।
घण्टौं लाइन लागेर सार्वजनिक सेवा लिनुपर्ने बाध्यतालाई हटाउन कागजविहीन, व्यक्ति स्वयम् उपस्थित हुन नपर्ने र लाइन लाग्न नपर्ने गरी सेवा दिने प्रतिबद्धता संकल्प पत्रमा जनाइएको छ। यस्तै विशिष्ट सार्वजनिक सेवा दु्रत रुपमा घरघरै पुर्याइने, सार्वजनिक प्रशासनलाई भ्रष्टाचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गर्ने र सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन्।
हाल गुनासो लिएर जाने जनतालाई जनप्रतिनिधिले हप्काएर पठाउने गरेको अवस्थालाई चिर्दै गुनासो सुन्नका लागि हेलो मेयर डेक्स स्थापना गर्ने योजना छ। यस्तै सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ।
बुटवल उपमहानगरको आफ्नै अस्पताल नरहेको अवस्थामा गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ। यस्तै संकल्पपत्रमा भनिएको छ– ‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ। वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ। स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्ध गराइने छ। बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ। नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ।’
यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ। यस्तै नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, बिस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
‘बुटवलको फोहोर व्यवस्थापनमा ५आर प्रणाली अवलम्बन गर्दै अन्य पालिकाहरु समेतको समन्वयमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गरिने छ। फोहोरको प्रकृति अनुसार घरेलु फोहोर संकलन कार्यलाई सहज बनाउन टोल विकास समितिहरुसंगको सहकार्यमा टोलस्तरमा रंगीन डस्टविनहरु राखिने छ। यस्तै संकल्प पत्रमा आवश्यक रंगरोगन, ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, सेन्सरयुक्त ट्राफिक बत्ती आदिको व्यवस्था गर्दै सडक पूर्वाधारलाई यात्रुमैत्री बनाउने योजना अघि सारिएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत चौराहा चिडियाखोला सडकखण्डको धुलोधुँवा नियन्त्रण गर्दै तत्काल कालोपत्रे गर्ने, तिनाउ–दानव कोरिडोर निर्माण कार्यलाई अघि बढाउन पीडित नागरिकहरुका लागि बुटवल उपमहानगरभित्र जग्गा व्यवस्था गरी संघ र प्रदेश सरकारको सहयोगमा क्षतिपूर्ति सहित पुर्नस्थापना गर्ने योजना पनि संकल्प पत्रमा उल्लेख गरिएको छ।