शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोकर्णमा मध्यरातमा सुरु भयो मानदेवकालीन कान्तिभैरव जात्रा

गोकर्णमा मध्यरातमा सुरु भयो मानदेवकालीन कान्तिभैरव जात्रा

चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीयाअर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्छ।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- राजा मानदेवले चलाई हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा शुक्रबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु भएको छ। वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ-आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु हुने परम्परा छ।

National life

चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीयाअर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्छ।

वैशाखकृष्ण आमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासु बुहारीले संयुक्तरुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ। यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं साविकको गोकर्णेश्वर गाविसका पूर्वउपाध्यक्ष राधाकृष्ण श्रेष्ठ बताउँछन्।

'यो दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने दिन भएकाले कान्तिभैरव जात्रालाई पनि आमाप्रतिको सम्मानकै रुपमा लिन्छौँ', कान्तिभैरवको गुठियारसमेत रहेका उनले भने।

इतिहासदेखिको जात्रा विधि

Shivam cement

जात्राका अवसरमा श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई आकर्षकरुपमा सिङ्गारिएको तीनतले खटमा विराजमान गराइन्छ। तीनवटा रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइन्छ। परिक्रमा गराउने क्रममा प्रत्येक चोक, दोबाटो र घर आँगनमा स्थानीयवासीले उत्साहसाथ श्रद्धाभाव अर्पण गर्दछन्।

चतुर्दशीका दिन बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तिगणेशमा लगी राख्छन्। गुप्तिगणेशलाई दिनभर स्थानीयवासीले पूजा गर्दछन्। साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ।

यसपछि ऐतिहासिक गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ। निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाइ पूजा गरिन्छ। स्वर्णमय झण्डा र गजूरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ। सिङ्गारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ। यस अवसरमा बाजा बजाई हर्षबढाइँ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोलटोलमा घुमाइन्छ।

भातको देवताअर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ। तीन स्थानमा व्रत बसेका तीन जना गुठियारले एक/एक पाथी भातको देवता बनाउँछन्। पाक्तापाक्तैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ। भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीय रामजी श्रेष्ठ बताउछन्।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्दछन्। रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछन्। जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायतका काममा जात्रालुको भीड लाग्ने गरेको डेढ दशकअघिदेखि जात्रा हेर्दै आएकी सपना श्रेष्ठ बताउछिन्। 

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पर्‍याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ। रथलाई मन्दिरको ३२ पटक परिक्रमा गराएर मात्र बिसाउनुपर्ने धार्मिक विश्वास छ। रथ बिसाएपछि भैरवको  प्रसाद लिन सहभागीबीचमा तछाडमछाड हुने गर्दछ। पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ। 

आमाको मुख हेर्न भैरव

आमाको मुख हेर्ने दिन कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पुर्‍याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक जनविश्वास यस क्षेत्रका मानिसमा लिच्छविकालदेखि रहेको कान्तिभैरव जात्राका विषयमा त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयअन्तर्गत स्नातकोत्तर तहको शोध गरेका बटुराम भण्डारी बताउँछन्। रथ बिसाएपछि कर्माचार्य थरका पुजारीले बलिसहित पूजा गरेरमात्र सिन्दूर जात्रा गर्ने र रथ उठाउने परम्परा रहेको पनि उनले जानकारी दिए।

रथ उठाएर महतटोल, किसिगाल, भैरवचौर, तालिञ्चोक, चौतारा र नयाँपाटीलगायतका स्थानमा पनि बलिसहित पूजा गरिन्छ। सिन्दूरजात्रा गर्दै रथलाई राजा मानदेवले बसाएको ऐतिहासिक गोकर्णदेशे अर्थात् लाछीमा लगी राखिन्छ। श्रीगणेश र श्रीकुमारीको रथ पनि त्यहाँ सिङ्गारेर राखिएको हुन्छ।

श्रीभैरव, श्रीगणेश र श्रीकुमारीको तान्त्रिक विधिअनुसार पूजा गरिन्छ। तीनै देवीदेवताका रथलाई पुनः सिन्दूरजात्रा गरी गोकर्णेश्वरका विभिन्न क्षेत्रमा घुमाइन्छ। औँसीका दिन साँझ डबलीको दायाँबायाँ श्रीगणेश र श्रीकुमारी एवं बीचमा श्रीभैरवको रथ बिसाएपछि आमाको मुख हेर्ने दिनको जात्रा समाप्त हुन्छ।

वैशाख शुक्ल प्रतिपदाका दिन पूजा गरेपछि मात्रै रथ उठाइन्छ। गोकर्णेश्वर नगरपालिका–४ बाट प्रतिपदाका दिन मध्याह्न सिङ्गो बाँसको पाँचवटा आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित श्रीभैरवको तान्त्रिक पूजा गरी बलि चढाइन्छ। 

यसपछि ध्वजा भएको बाँसको टुप्पाले रथको गजूरमा जुधाएर रथ उठाइ डठुलाछीमा लगिन्छ। यस दिन गोकर्णेश्वर नगरपालिकाका ऐतिहासिक १० गाउँका मानिस पूजा सामग्रीसहित आएर पूजा गर्दछन्। यसरी पूजा गरेपछि स्थानीयले  आफन्त र नाता कुटुम्बलाई घरमा बोलाई भोज खुवाउने प्रचलन छ। 

वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ। वैशाख शुक्ल तृतीयाअर्थात् अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराएपछि ऐतिहासिक पाँचदिने जात्रा सम्पन्न हुन्छ। 

जात्रा सञ्चालनका लागि राजा मानदेवको पालादेखि नै प्रसस्त गुठीको व्यवस्था गरिएकामा हाल गुठी मासिएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको पशुपतिनाथ अमालकोट कचहरी र गोकर्णेश्वर नगरपालिकाले जात्राको खर्च व्यहोर्ने गरेका छन्। जात्राका लागि सरोकार भएका निकायले छुट्याएको रकम कम हुँदा ऐतिहासिक महत्वको परम्परा धान्न मुस्किल परेको गुठियारको गुनासो छ।

कान्तिपुर नामकरण भएको जात्रा

यही जात्राको नामबाट कान्तिपुर नगरको नामकरण गरिएको विश्वास गरिन्छ। त्रिभुवन विश्वविद्यालय संस्कृति विषयका प्राध्यापक मिलनरत्न शाक्यले आफ्नो पुस्तकमा भैरव परम्पराको विषय उल्लेख गरेको जात्राको विषयमा स्नातकोत्तर शोध गरेका भण्डारीले जानकारी दिए। पुस्तकमा कान्तिभैरवकै नामबाट कान्तिपुर नामकरण भएको विषय पनि उल्लेख गरिएको छ। वैशाख कृष्ण चतुर्दशीको मध्यरातिदेखि सुरु हुने जात्रा भए पनि स्थानीयवासीको सहभागिता भव्य हुन्छ। 

मध्यरातमा हुने जात्रा भएकाले चिरागको विशेष किसिमको बत्ती बाल्नु यो जात्राको सबैभन्दा आकर्षक पक्ष भएको स्थानीयवासी कृष्णशरण श्रेष्ठ बताउँछन्।     रासस

प्रकाशित: Apr 30, 2022| 09:52 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।