आइतबार, साउन २४, २०८३

बाइडेनको क्यान्सर गम्भीर बन्दै

 |  आइतबार, साउन २४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०८३

काठमाडौं- अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिर पनि फैलिएको र उनलाई अत्यधिक पीडा भइरहेको उनका छोरा हन्टर बाइडेनले बताएका छन्।

बिबिसीसँगको अन्तर्वार्ताका क्रममा हन्टरले आफ्ना बुबाको क्यान्सर हड्डीमा फैलिनुका साथै अन्य भागमा समेत फैलिएको बताएका हुन्। उनले बाइडेनको अवस्था निकै पीडादायी र दैनिक जीवनमा गम्भीर असर पार्ने खालको रहेको बताए।

आफ्ना बुबाको स्वास्थ्य अवस्थाबारे बोल्ने क्रममा हन्टर भावुकसमेत भएका थिए। उनले बुबाको अवस्था हेर्न निकै कठिन र दुःखद रहेको बताए। यद्यपि, बाइडेन अझै सक्रिय रहेको र अमेरिकाप्रति आफ्नो प्रतिबद्धता कायम राखेको उनले उल्लेख गरे।

बाइडेनले सन् २०२५ को मे महिनामा आफूलाई आक्रामक प्रकारको प्रोस्टेट क्यान्सर भएको सार्वजनिक गरेका थिए। त्यतिबेला नै क्यान्सर हड्डीमा फैलिसकेको पाइएको थियो। उनले त्यसपछि विकिरण उपचार र हर्मोन उपचार गराएका थिए।

गत महिना आफ्नो आगामी संस्मरण सार्वजनिक गर्ने घोषणा गर्दा बाइडेनले उपचार निकै राम्रो ढङ्गले अघि बढिरहेको बताएका थिए। तर, उनका छोराको पछिल्लो भनाइले बाइडेनको स्वास्थ्य अवस्था पुनः गम्भीर बनेको संकेत गरेको छ।

बाइडेन राष्ट्रपति हुँदा पनि उनको स्वास्थ्य अवस्थामाथि निरन्तर चासो र निगरानी हुँदै आएको थियो। विशेषगरी सन् २०२४ को जुनमा तत्कालीन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पसँग भएको सार्वजनिक बहसमा उनको कमजोर प्रदर्शनपछि उनको स्वास्थ्यबारे व्यापक प्रश्न उठेका थिए।

त्यसपछि आफ्नै दलका नेताहरूबाट राष्ट्रपतिको दौडबाट पछि हट्न दबाब बढेपछि बाइडेनले उम्मेदवारी त्यागेका थिए। त्यसपछि तत्कालीन उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन्। सन् २०२४ को नोभेम्बरमा भएको निर्वाचनमा डोनाल्ड ट्रम्पले ह्यारिसलाई पराजित गरेका थिए।

बाइडेनले सन् २०२१ देखि २०२५ सम्म अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। सन् २०२० मा राष्ट्रपति निर्वाचित हुँदा उनी अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति निर्वाचित हुने व्यक्ति बनेका थिए। त्यसअघि उनले सन् २००९ देखि २०१७ सम्म बराक ओबामाको उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।

क्यान्सरसँग जुधिरहेका भए पनि बाइडेन सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका छन्। उनले गत जुनमा शिकागोमा आयोजित बराक ओबामाको राष्ट्रपतीय पुस्तकालयको उद्घाटन कार्यक्रममा समेत सहभागिता जनाएका थिए।

बाइडेनको राष्ट्रपतीय कार्यकालसम्बन्धी संस्मरण नोभेम्बर १७ मा सार्वजनिक हुने तयारी छ।

प्रकाशित: Aug 09, 2026| 14:15 आइतबार, साउन २४, २०८३
प्रतिक्रिया दिनुहोस्