धनगढी- कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शुक्रबार जिल्लाको घोडाघोडी नगरपालिका-४ का रामशिखर झालाका २२ वर्षीय नरेश बुढाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही ठाउँको बेत्नी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा हिजो नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीसहित घोडाघोडी-४ कै २२ वर्षीय कैलाश ठगुन्ना, २२ वर्षकै ललित बुढा र १९ वर्षीय अनिल चौधरी सोही ठाउँका शोभाराम चौधरीको घरबाट बिजुलीको तार लागी माछा मारिरहेका बेला करेन्ट लागेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
माछा मार्ने ठगुन्ना, बुढा र चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।