काठमाडौं- भन्सार छलेर भारतीय वस्तु ल्याएर राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले ४२ करोडको मुद्दा दायर गरेको छ। २१ करोडभन्दा बढी रुपैयाँ बराबरको राजस्व छली गरेको आरोपमा विभागले पाटन उच्च अदालतमा आइतबार मुद्दा दायर गरेको हो। यो बिगो र सजायसहितको रकम हो।
भारतीय कपडालगायतका मालवस्तुहरू काठमाडौं ल्याएर बिना विल बिजक विक्री वितरण गरेर राजस्व चुहावट गरेको आरोप उनीहरूमाथि विभागले लगाएको छ। उक्त आरोपमा जिल्ला पर्सा, साविक बगही गाउँविकास समिति वडा नम्बर ९, हाल बीरगञ्ज महानगरपालिका वडा नम्बर २८ ठेगाना भएका, रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, पाँचखाल नगरपालिका-४ काभ्रेपलाञ्चोकका ना ७ ख १६७ नम्बरको ट्रकका धनी तथा चालक ३१ वर्षीय श्यामबहादुर श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।
यस्तै वीरगञ्ज महानगरपालिका-२का विष्णु एण्ड विकेश सप्लायर्सको कारोबार हेर्ने रमाशंकर गुप्ताको कारोबार हेर्ने कर्मचारी ४२ वर्षीय मनोज साह कलवार छन्।
यसैगरी, गुल्मी वाग्ला ७ स्थायी ठेगाना भएका विष्णु एण्ड विकेश सप्लायर्सका प्रोप्राइटर विष्णु प्रसाद घिमिरेलाई पनि प्रतिवादी बनाइएको छ। यस्तै, काठमाडौं महानगरपालिका-१३ ताहाचल बसोबास गर्ने विमला इन्टरनेसनलको कारोबार गर्ने ३२ वर्षीय अमितकुमार अग्रवाल पनि छन्।