सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैशाख ८ देखि सञ्चालनमा ल्याइँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग

वैशाख ८ देखि सञ्चालनमा ल्याइँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग

पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं- व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिएपछि धावनमार्ग सञ्चालन मिति तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो। 

पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ एयरलाइन्सले विमानस्थलमा आन्तरिक उडान गरिरहेका छन्। अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि सुरु हुने प्राधिकरणले जनाएको छ। 

मन्त्री आलेले कोरोना सङ्क्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्। 

यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम सुरु भएको बताइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तर्राष्ट्रिय उडान सुरु गरिने महानिर्देशक अधिकारीले बताए। 

'हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्नेछौँ र कटान दुई महिनामा सक्ने लक्ष्य राखेका छौँ,' उनले भने। 

नेपालमा कोरोना भाइरस करिबकरिब अन्त हुँदै गएपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तर्राष्ट्रियविमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने योजना बनाएको छ।  

प्रकाशित: Apr 17, 2022| 13:55 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्