सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको कारबाहीको विरोधस्वरुप बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुन्ड्याएर कोणसभा गरेको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको कारबाहीको विरोधस्वरुप बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुन्ड्याएर कोणसभा गरेको छ। 

केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुन्ड्याइएको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्व फिर्ता गर, संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर नारा लेखिएको छ।

कालो ब्यानर झुन्ड्याउनुअघि कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्र प्रसाद तिमल्सिनाले राज्य संचालकहरु वित्तिय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त भई वित्तिय माफियाहरुको चंगुलमा फसेपछि नेपाल राष्ट्र बैंकको नेतृत्व माथि आक्रमण हुने गरेको बताए।

हालका गभर्नरमाथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधका कार्यक्रमहरुमा उत्रने गरेको बताए । 

यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालिन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरु अख्तियारदेखि अदालतसम्म गएर आन्दोलन गरेको अनुभव आफूहरुसँग भएको बताउँदै अध्यक्ष तिम्सिनाले गभर्नर माथि गरिएको कारवाही फिर्ता लिन नेपाल सरकारलाई अनुरोध गरे। 

प्रकाशित: Apr 17, 2022| 13:27 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्