काठमाडौं- विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले सामाजिक सञ्जाल ट्विटरलाई पूर्ण रुपमा खरिद गर्ने प्रस्ताव बोर्ड समक्ष राखेका छन्।
प्रति कित्ता ५४.२० अमेरिकी डलरका दरले कम्पनीको सबै शेयर आफूले जम्मा ४३ अर्ब अमेरिकी डलरमा खरिद गर्ने प्रस्ताव मस्कले राखेका हुन्।
प्रारम्भिक प्रस्तावमा उनले आफू कम्पनीको 'असाधारण क्षमता'को चाबी खोल्ने व्यक्ति भएको बताए पनि पछिल्लो समय यसबारे उनले मिश्रित धारणा प्रस्तुत गरेका छन्। बिहिबार भने ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवालले कर्मचारीहरुलाई एलनको प्रस्तावको मुल्यांकन गरिरहेको बताएका थिए।
यसका साथै कर्मचारीहरुको बैठकमा अग्रवालले मस्कसँग हालै ट्विटरको अधिकतम शेयर भएतापनि उनको यस्तो प्रस्तावले कम्पनीलाई ‘बन्धक’ नबाउने आश्वासन दिए।
भ्यान्कुभरमा आयोजित टेड-२०२२ समारोहमा बोल्दै मस्कले सो विषयमा मिश्रित प्रतिकृया जनाएका हुन्। 'वास्तवमै यो योजना सफल हुन्छ-हुँदैन, मलाई थाहा छैन,' उनले भने।
ट्विटरले उक्त प्रस्ताव अस्वीकार गरे आफूसँग वैकल्पिक योजनासमेत रहेको मस्कले जिकिर गरे। वैकल्पिक योजनाबारे प्रश्न गरिँदा उनले थप जानकारी दिन भने चाहेनन्।
मस्कका विचारमा ट्विटर अझ उदारवाद, स्वतन्त्र र समावेशी हुनुपर्छ। साउदी अरबका राजकुमार अल्वालिद बिन तलालले भने ट्विटरको विकासको क्षमता मध्यनजर गर्ने हो भने एलनको प्रस्ताव वास्तविक मुल्यको एक छेउ पनि नआउने बताएका छन्।
उनले ‘किङ्डम होल्डिङ कम्पनी’ नामक लगानी कोषमार्फत् आफ्नो पनि ट्विटरमा शेयर रहेको कुरा थपे। जसको जवाफमा तुरुन्तै मस्कले दुईवटा प्रश्न तेर्स्याए। राजकुमारलाई मस्कको पहिलो प्रश्न - उनको लगानी कोषमार्फत ट्विटरमा कति शेयर रहेको थियो भने दोस्रो प्रस्नमा उक्त कम्पनीको अभिव्यक्ति स्वतन्त्रता बारे कस्तो धारणा रहेको सोधेका थिए।
ट्विटरले मस्कको उक्त प्रस्ताव आएको कुराको पुष्टी गरेसँगै बोर्डले पनि विचार गरिरहेको जानकारी दिएको छ।