काठमाडौं- आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ आगामी वैशाख ३ गते काठमाडौँको दरबारमार्गमा १५औँ दरबारमार्ग महोत्सवको आयोजना गरिने भएको छ।
कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासहित यो महोत्सव आयोजना हुन लागेको हो।
महोत्सव नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँग महासङ्घको विशेष सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरिएको छ। आन्तरिक पर्यटनलाई प्रबर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको महासङ्घले जनाएको छ।
महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कलासंस्कृतिको प्रस्तुति, चर्चित गायक, गायिका, कलाकार तथा साङ्गीतिक समूहको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकार र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका कक्ष हुनेछन्।