काठमाडौं- नेपाल चामल तेल दाल उद्योग संघले करण छुटको माग गर्दै अर्थसचिव मधुकुमार मरासिनीसँग भेट गरेको छ। संघको प्रतिनिधि मण्डलले बुधबार अर्थमन्त्रालयमा पुगेर कर छुटको माग गरेका हन्।
उनीहरुले नेपालबाट निर्यात हुने दाल तथा तेलजन्य पदार्थमा लाग्ने कर छुट माग गर्दै अनुदान दिन समेत माग गरेका छन्। 'मुसुरो दाल निकासी गर्दा ४ प्रतिशत अनुदान दिने व्यवस्था थियो। त्यो व्यवस्था हाल हटाइएको छ। उक्त अनुदान पुनः दिने व्यवस्थालका लागि माग गरेका छौँ,' एक उद्योगीले भने, 'दाल निकासी गर्दा १ प्रतिशत निकासी कर लाग्ने गरेको छ। उक्त कर पनि हटाइदिन माग गरेका छौँ। यस्तै दालको सहउत्पादन चुन्नी भुसीमा लगाइएको प्रतिकेजी ५० पैसा निकासी कर पनि हटाइदिन माग गरेका छौँ।'
उनीहरूले तोरीको तेल आयात गर्नुको सट्टा नेपालमा नै कच्चा पदार्थ ल्याएर पिसानी गर्न सस्तो हुने समेत उल्लेख गरेका छन्। तोरीको गेडा आयात गर्दा ५ प्रतिशत आयात शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। उसले यस्तो कुल कर ५ प्रतिशत मात्र लगाउनसमेत संघले माग गरेको छ।