सोमबार, असोज १२, २०८३

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच-सात घरमा मात्रै बसोबास छ। उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

बागलुङ- बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ। बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच-सात घरमा मात्रै बसोबास छ। उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्।

श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ। धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गरेका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौँस्थित टोखामा दुई वर्ष कुखुरापालन गरे। विसं २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उनी बाख्रापालन गर्न गाउँ फर्किएका हुन्। अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहेका छन्। अब उनको कुखुरापालन गर्ने योजना छ। 

'गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए', थापाले भने, 'गाउँमै केही गर्ने सोच पलायो।'  बसाइँसराइले गाउँ नै उजाडिँदा बारी सबै बाँझो थियो। खेती गर्न धेरै जनशक्ति चाहिने भएपछि बाख्रापालनमा हात हालेको उनको भनाइ छ। अहिले उनी फार्म विस्तारमा लागेका छन्। अहिले थापाको फार्ममा सानाठूला गरेर १२५ बाख्रा र बोका छन्। 

थापाले नाफालाई ध्यान नदिई लगानी वृद्धिमा जोड दिएका छन्। उनले तीन वर्षअघि ३५ बाख्राबाट व्यवसाय सुरु गरेका हुन्। गाउँको बाँझो जग्गाको सदुपयोग गर्दै  आयआर्जन बढाउन बाख्रापलनमा लगानी गरेको उनी बताउछन्। 'हालसम्म ३० लाख लगानी गरिसकेको छु', उनले भने। 

ताराखोला गाउँपालिकाले बाख्रापालनलाई प्रवर्द्धन गर्न नौ लाख अनुदान उपलब्ध गराएको थापाले बताए। उनले सो रकमबाट फार्म विस्तार र बोयर बोका खरिद गरेका छन्। 'गाउँ उजाडिँदै गयो, सेवा सुविधा, अध्ययन र रोजगारीका लागि गाउँ छोड्नेहरु बढे, त्यसैलाई आफूले अवसरका रुपमा लिएर बाख्रापालन गर्ने सोच बनाएर गाउँ फर्के', थापाले भने। 

व्यवसायमा उनलाई भाइ रिमबहादुरले सहयोग गरिरहेका छन्। आफ्नै ६० रोपनी र अन्य घर छोडेर गएका चार परिवारको ७० रोपनी जग्गामा थापाले बाख्रा चराउने र घाँस काट्ने गरेका छन्। सामुदायिक वनमा समेत बाख्रा चराउने गरेको थापाले बताए।

'बजारको समस्या छैन, बाख्रा खरिद गर्न व्यापारी फार्ममै आउने गरेका छन्', उनले भने। चरन क्षेत्र प्रशस्त भएको श्याम खर्कमा बाख्रापालनको  सम्भावना अत्यधिक छ। 

रासस

प्रकाशित: Apr 13, 2022| 09:55 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्