काठमाडौं- गत वर्षभन्दा यस वर्ष कर्जा प्रवाहमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ८ महिना (फागुनसम्म)को तथ्यांकले गत वर्ष सोही अवधिभन्दा २२ प्रतिशत बढी कर्जा प्रवाह भएको देखाएको हो।
गत आर्थिक वर्षको पहिलो ८ महिनामा ३८ खर्ब ४६ अर्ब १८ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो। तर यस वर्ष ४७ खर्ब १ अर्ब ९ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह भएको तथ्यांकले देखाएको हो।
निक्षी क्षेत्रले ४६ खर्ब ९९ अर्ब ७४ करोड ८३ लाख रुपैयाँ कर्जा लिएर गएको छ। यो गत आर्थिक वर्षको भन्दा २२.२३ प्रतिशत बढी हो। गत आवको ८ महिनामा निजी क्षेत्रले ३८ खर्ब ४४ अर्ब ७२ करोड २८ लाख रुपैयाँ कर्जा लिएको थियो।
निजी क्षेत्रले लिएको कर्जामा वृद्धि हुँदा स्थानीय सरकारहरूले लिएको कर्जा घटेको छ। स्थानीय तहले १ अर्ब ३४ करोड ४६ लाख रुपैयाँ कर्जा लगेका छन्। गत वर्ष १ खर्ब ४६ अर्ब ५५ लाख रुपैयाँ कर्जा लिएका थिए। ९९ प्रतिशतभन्दा बढी कर्जा निजी क्षेत्रमा गएको छ।
निजी क्षेत्रमा गएको कुल कर्जामध्ये ६७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। गत आर्थिक वर्षको फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो।
यस वर्ष कृषि क्षेत्रतर्फको कर्जा १६.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले बढेको देखिन्छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २१.४ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १५.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १४.१ प्रतिशतले र हायर पर्चेज कर्जा ५ प्रतिशतले बढेको छ भने आयात कर्जा ४१.९ प्रतिशतले र मार्जिन कर्जा ९.९ प्रतिशतले घटेको छ।त्यसैगरी, सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जामा १ खर्ब ३४ अर्ब ११ करोड लगानी भएको छ। यस वर्ष ८ महिनामा १ लाख ४४ हजार ६२० ऋणीलाई सहुलियतपूर्ण कर्जा लिएका हुन्।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ५ सय ६० ऋणीलाई कर्जा प्रवाह गरिएको छ। १ खर्ब ३७ अर्ब ७९ करोड रुपैयाँ यस्तो कर्जा मा लगानी भएको छ भने महिला उद्यमशीलता कर्जाअन्तर्गत ८२ हजार १९७ महिलाले कर्जा लिएका छन्। महिला उद्यमीलाई ७४ अर्ब १७ करोड रूपैयाँ कर्जा प्रवाह गरिएको छ।
त्यस्तै ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ फागुन मसान्तसम्ममा रु.१ अर्ब १० करोड स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ।