अमेरिकी स्वचालित ट्याक्सी सेवाप्रदायक कम्पनी ‘क्रुज’ले सान फ्रान्सिस्कोमा सार्वजनिक सेवा सुरु गरेको दुई महिना मात्र पुग्दैछ। ‘जनरल मोटर्स’ र ‘होन्डा’सँगको सहकार्यमा सञ्चालित क्रुजले सुरुवाती दिनमा निःशुल्क सेवा प्रदान गरेको थियो।
गत साताको अन्त्यतिर क्रुजको गाडी र प्रहरी अधिकारीबिच जम्काभेट भयो। यसको भिडियो पनि बाहिरियो। प्रहरी विभाग र ‘रोबोट्याक्सी’को उक्त भेट केही हदसम्म 'हास्यास्पद' पनि देखिएको छ। प्रहरीले क्रुजको ट्याक्सीलाई ‘हेडलाइट’ नबालेका कारण रोकेका थिए।
भिडियोको दृश्य अनुसार एक प्रहरी अधिकारीले चालक-विहीन क्रुज गाडीलाई रोक्छन्। गाडीको झ्यालतिर जान्छन्। झ्यालसम्म गएका ती अधिकारी ढोका खोल्ने प्रयास गर्छन्। तर उनी सफल हुँदैनन्। आफ्नो गाडीमा फर्कन्छन्। स्व-चालित ट्याक्सीले फेरि आफ्नै गति पक्रन्छ। प्रहरीले क्रुजलाई पछ्याउँछ।
अलि अगाडि पुगेर क्रुज आफैँ रोकिन्छ। प्रहरी पनि रोकिन्छन्। गाडीबाट ओर्लेर क्रुजको वरिपरि घुम्छन्। सम्भवतः हेडलाईट कसरी चालु गर्ने भनेर पत्ता लगाउन खोजेको हुनुपर्छ।
यस विषयलाई लिएर ‘द भर्ज’सँगको कुराकानीमा क्रुजका प्रवक्ताले चालक विहीन गाडी प्रहरीबाट भागेको नभई रोक्नलाई सुरक्षित स्थान खोजेको बताए। प्रवक्ता एरन मक्लियरले सान फ्रान्सिस्को प्रहरी विभागका अधिकारीले हेडलाइट नबलेका कारण क्रुजलाई रोकेको अनि क्रुजले त्यो समस्याको समाधान पनि गरिसकेको पुष्टि गरे।
'प्रहरीले रोक्न खोजेपछि क्रुज रोकियो। पछि फेरि क्रुज आफैँ दगुर्यो। सुरक्षित स्थानको खोजीमा ट्राफिक स्टपमा गएर गाडी अडिएको छ,' एरनले भने, 'ती अधिकारीले हामीसँग सम्पर्क गरे। हामी प्रहरी विभागसँग नजिक भएर काम गर्छौँ। यस्तो अवस्थाका लागि छुट्टै टेलिफोन लाईन पनि सुरु गरेका छौँ।'
जनरल मोटर्सको सहायक क्रुजले आफ्ना गाडीहरूमा लाइडार प्रविधिको प्रयोग गरी स्वचालित बनाएको हो। कम्पनीले सन् २०१७ देखि नै परीक्षणका लागि सान फ्रान्सिस्को वरपरका क्षेत्रमा आफ्ना कर्मचारीलाई घुमाउने गरेको थियो। तर सर्वसाधारण लागि भने केही महिना अगाडि मात्र यो सेवा सुरु गरिएको हो।
क्रुजको हेडलाइट नबल्नुको कारण अझै खुल्न सकेको छैन। क्रुजका साधनलाई राति १० देखि बिहान ६ बजेसम्म मात्र चल्ने अनुमति दिइएको छ। रातमा मात्र चल्न पाउने यी गाडीहरुमा हेडलाइट अत्यावश्यक हुन्छ।
सन् २०१८ मा अनलाइन ट्याक्सी सेवा प्रदाय कम्पनी उबरद्वारा सञ्चालित स्वचालित गाडीको ठक्करले अमेरिकाको एरिजोना राज्यमा एक महिलाको ज्यान गएको थियो। राष्ट्रिय सवारी सुरक्षा बोर्डको अनुसन्धान अनुसार सफ्टवेयरमा कुनै असहजता नआओस् भनेर भोल्भोको आकस्मिक ब्रेकिङ प्रणाली बन्द गरिएको खुलासा भएको थियो। तर त्यसै कारण दुर्घटना घटेको हो भन्ने कुराको भने पुष्टि हुन सकेको छैन।
-द भर्जबाट