विराटनगर- आगामी स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउन माग गर्दै ओरेक नेपालले प्रदेश १ का राजनीतिक दलका नेताको ध्यानाकर्षण गराएको छ। ओरेक विराटनगरको नेतृत्वमा महिला मानव अधिकार रक्षक सञ्जाल, स्थानीय तहमा रहेका महिला फेडेरेसन, महिला अपाङ्ग महासंघ, महिला अधिकारकर्मी लगायतको टोलीले महिलाको नेतृत्वदायी पद सुनिश्चितताका लागि माग गरेका हुन्।
राजनीतिक दलका नेताहरुलाई नेपालको संविधानको धारा ३८ को उपधारा ४ मा मौलिक हककै रुपमा व्यवस्था गरिए अनुसार राज्यका सबै संरचनामा महिलाको समानुपातिक समावेशी नेतृत्व अनिवार्य रुपमा सुनिश्चित गरिनुपर्ने उनीहरूको माग छ।
ओरेक विराटनगरकी कार्यक्रम अधिकृत गोमा भण्डारीले अझैपनि महिलाको पारिवारिक, सामाजिक र राज्यकै श्रोतमाथि पूर्ण रुपमा पहुँच स्थापित हुन नसकेको भन्दै राजनीतिक दलले त्यसलाई बेवास्ता गर्न नहुने उल्लेख गरिन्।
अधिकारकर्मीको टोलीले सोमबार नेकपा एमाले प्रदेश १ अध्यक्ष तुलसी न्यौपाने, नेपाली काग्रेस प्रदेश १ अध्यक्ष उद्धव थापा, नेकपा एकी1कृत समाजवादी पार्टीका जिल्ला तथा केन्द्रीय नेताहरुको ध्यानाकर्षण गराएका थिए।