सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योगी-व्यवसायी भन्छन्- आर्थिक अवस्था नाजुक भइसकेको छैन, सुधार्ने समय छ

उद्योगी-व्यवसायी भन्छन्- आर्थिक अवस्था नाजुक भइसकेको छैन, सुधार्ने समय छ

देशले श्रीलंकाको जस्तो संकटपूर्ण पदचाप पछ्याइरहेको भन्दै सर्वत्र चिन्ता भइरहेका बेला उद्योगी–व्यवसायीहरुले भने मुलुकको आर्थिक अवस्था नाजुक नभएको तर सुधार्न प्रयत्न हुनुपर्ने बताएका छन्।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं– देशले श्रीलंकाको जस्तो संकटपूर्ण पदचाप पछ्याइरहेको भन्दै सर्वत्र चिन्ता भइरहेका बेला उद्योगी–व्यवसायीहरुले भने मुलुकको आर्थिक अवस्था नाजुक नभएको तर सुधार्न प्रयत्न हुनुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंंघको ५६ औँ वार्षिक साधारणसभामा उपस्थित सरकारी प्रतिनिधि तथा निजी क्षेत्रका सरोकारवालाहरुले संकटोन्मुख अवस्था सुधार्न उपायहरु तय गरियो भने हामीसँग समय पनि रहेको जिकिर गरेका छन्।

महासंघका अध्यक्ष तथा उद्योगी–व्यवसायी शेखर गोल्छाले पछिल्लो सात महिनाको तथ्यांक हेर्दा अर्थतन्त्रबारे आत्तिनुपर्ने अवस्था नरहेको बताए। गोल्छाले मुलुकका आर्थिक सूचकहरु निरन्तर ओेरालो लागेको बेला नेपाल पनि श्रीलंका जस्तो हुने चिन्ता जनमानसको चिन्तालाई सम्बोधन गर्दै नेपाल त्यो अवस्थामा नपुग्ने विश्वास व्यक्त गरे। यद्यपि अहिले संंकट रोक्न रकम भित्र्याउने, मुलुकमा लगानीका अवसरमा वृद्धि गर्ने, उत्पादन बढाउने लगायतका काम अगाडि नबढाइएमा मुलुकले थप आर्थिक संकट खेप्नुपर्ने उनको भनाइ छ। 

मुुलुकमा लगानी बढाउन प्रतिफलकोे सुनिश्चितता हुनुपर्ने र त्यसका लागि सरकार र निजी क्षेत्रकोे मिलेमतोमा प्रतिस्पर्धी व्यावसायिक वातावरण बनाउनु आजको आवश्यकता रहेको आंैल्याए। यद्यपि आयात–निर्यात गर्ने निजी क्षेत्र भ एपनि सरकाले नीति–निर्देशन ल्याउँदा छलफल नगरेको उनले आरोप लगाएका छन्। ‘आयात–निर्यात गर्ने हामी हौँ। तर अर्थतन्त्रमा के कस्ता समस्या छन् भनेर हामीसँग छलफल हुँदैन। निजी क्षेत्रलाई राजस्वको स्रोतका रुपमा मात्रै हेरियो। विकासको साझेदार मान्न सकिएन,’ उनले भने।

सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढेमा अहिलेको नकारात्मक दिशामा गइरहेको आर्थिक अवस्थालाई माथि ल्याउन सकिने उनको दाबी छ। निजी क्षेत्र एक्लै केही गर्न नसक्ने बताउँदै उनले सबैको साथ चाहिने र विशेष गरी सरकारकै सहयोग चाहिने उल्लेख गरे। अध्ययन तथा लगानी निजी क्षेत्र गर्न तयार रहेको भन्दै उनले कार्यान्वयनमा सहजिकरण गर्न आग्रह गरे। उनले भने, ‘लगानी हामी गछौँ, प्रक्रिया सहज बनाइदिनुस्। हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुस्। हामी रोजगार दिन्छौं, हड्ताल नगरिदिनुस्। हामी निर्यात गर्छाैं, प्रोत्साहन गरिदिनुस्। हामी पर्यटक ल्याउँछौं, स्वागत गरिदिनुस्। हामी राजस्व बुझाउँछौं, अपमान नगरिदिनुस्।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले भूकम्पको क्षतिलाई पुनरुत्थान गर्न नपाउँदै कोभिडले आर्थिक क्षेत्र तहसनहस बनाएको बताए। सानो अर्थतन्त्र भएको नेपाल जस्तो मुलुकलाई लगातार दुई ठूला धक्का लाग्दा मुलुकमा केही आर्थिक संकट आएको र यसको समाधान सम्भव रहेको उनले बताए। सरकारले हात समाएमा निजी क्षेत्र उक्सिन सक्ने र मुलुककै आर्थिक अवस्थामा सुधार आउने ढकालको भनाइ थियो। उनले निजी क्षेत्र कोभिडको महामारीमा पनि नाफा मात्रै नखोजी जिम्मेवार निकायको  हैसियतले देश र जनतालाई साथ र सहयोग गरेको र सधै गर्न तत्पर रहेको बताए। 

आर्थिक वर्षको सुरुदेखि नै व्यवसाय तथा वित्तीय क्षेत्रले थेग्न नसक्ने गरी कर्जाको माग बढेको उनको भनाइ छ। कर्जासँगै आयात बढ्नु स्वाभाविक रहेको बताउँदै उनले रेमिट्यान्स प्रवाह र पर्यटनबाट हुने आयमा ८० प्रतिशतको हाराहारीमा संंकुचन आउँदा सञ्चितिमा गिरावट आएको बताए। पछिल्ला दिनमा भने साढे ६ महिनाको आयात धान्न पुग्ने सञ्चिति रहेकै अवस्थामा रेमिट्यान्स र पर्यटन आय बढ्दै गएका कारण आगामी दिनमा सहजता आउने उनको ठम्याइ छ। 

श्रीलंकाको चरम आर्थिक संकट देखेर नेपाली जनता आत्तिएपछि सरकारलाई पनि समयमै सचेत बन्न मद्दत मिलेको उनले बताए। ‘नेपाल श्रीलंका जस्तो आर्थिक संकटमा पुग्ने हो कि भन्ने सबैमा डर छाएको छ। हामी त्यो अवस्थामा पुगेका छैनौं। सरकार पनि पूर्व तयारीमा जुटेको होला। सुधार गर्न सक्ने ठाउँ र उपाय धेरै छन्। हामी त्यो बाटोमा जान पर्दैन भन्ने मलाई आत्मविश्वास छ,’ उनले भने। यद्यपि आजैको दिनदेखि सचेतना भने अपनाउनुपर्ने उनको भनाइ छ। सुरक्षा र सचेतना अपनाएर अगाडि बढेमा यो आर्थिक वर्षमा पनि आर्थिक संकट नभई समृद्ध नेपाल बनाउन सम्भव रहेको उनले बताए। 

हालै भएको प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको विद्युत निर्यात गर्ने वातावरण सहज भएको उनले बताए। प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी रहेका ढकालले विद्युत व्यापारमा भारतको सहयोग रहने र बिक्रिका लागि बाटो खुला हुने गरी सम्झौता गरिएको सुनाए।

मुलुकमा अहिले ५७ प्रतिशतभन्दा बढी काम गर्न सक्ने जनसंख्या उपलब्ध रहेको र त्यसमा पनि युवाको बाहुल्य बढी रहेको जिकिर गर्दै उनले यो जनशक्ति उत्पादनशिल कार्यमा लाग्नुपर्ने बताए। अहिलेको आर्थिक संकटउन्मुख अवस्थालाई अवसरको माध्यम बनाउँदै उपलब्ध मानविय तथा अन्य स्रोत तथा शक्तिलाई उत्पादनशिल बनाउन निजी क्षेत्रलाई सरकारले सहयोग गर्न उनले अपिल गरे। यस्तो हुन नसकेमा आगामी दिनमा थप समस्या आउन सक्ने उनको प्रक्षेपण छ। प्रचुर सम्भावना हुँदा पनि आयातको आकार बढ्दै जाने र निर्यातकोे आकारमा उत्साहजनक वृद्धि नहुनु दुखद् रहेको ढकालले बताए। 

कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले बजारमा हल्ला भएजस्तो मुलुकको आर्थिक अवस्था नाजुक नभएको बताउँदै निजी क्षेत्रका उद्योगी व्यावसायीहरुलाई आत्मबल कमजोर नबनाउन आग्रह गरे। निजी क्षेत्रसँग खुला रुपमा सरकारले छलफल गरेर, उठेका रचनात्मक समस्या र समाधानका उपायलाई सम्बोधन गरेर अगाडि जान सरकार तयार रहेको उनले बताए। निजी क्षेत्र सरकारको अनन्य विकास साझेदार रहेको बताउँदै उनले साझेदारी र सहयात्रामा नै मुलुकको विकास सम्भव रहेको उल्लेख गरे। उनले नेपाली उद्योग–व्यवसायमा नयाँ कार्यशैली, कार्यपद्धति तथा प्रविधिको खाँचो रहेको समेत औंल्याए। 

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले सरकारको साथ संसारभरकै व्यवसायीलाई हुने भन्दै नेपाली उद्योगीले पनि त्यस्तो साथ खोजेको बताए। सरकारलाई सघाउन चाहनेलाई साथमा राख्नुपर्ने औंल्याउँदै उनले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिनुपर्नेमा जोड दिए।

साधारणसभामा महासंघका सदस्य जिल्ला–नगर उद्योग वाणिज्य संघहरू, वस्तुुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्यसमेत गरी करिब १ हजार ५ सय उद्यमी–व्यवसायीको सहभागिता थियो। महासंघमा जिल्ला–नगर वाणिज्य संघ ११८ वटा, वस्तुुगत संघ १२३, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २० र एसोसिएट सदस्य १७ सय ४८ छन्।

प्रकाशित: Apr 11, 2022| 18:40 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्