काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नरलाई कानुनअनुसार नै छानबिनको दायरामा ल्याइएको बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री शर्माले भने, ‘गभर्नरमाथि राष्ट्र बैंकको ऐनअनुसार नै छानबिन गर्न लागिएको हो। कानुनसम्मत् नै कदम चालिएको हो।’
गभर्नरमाथि छानबिन गर्न समिति गठन गरिएकाले त्यसको प्रतिवेदनले सबै प्रश्नको जवाफ दिने उनले बताए। एक महिनाभित्र समितिको प्रतिवेदन आउने उनले जानकारी दिए। व्यक्तिगत कुरा केही नभएको भन्दै उनले राष्ट्र बैंकले आफूले भनेको नमानेको बताए।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न मन्त्रिपरिषद्ले समिति गठन गरेपछि उनी निलम्बनमा परेका छन्।
मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा ठूलो संकट नआएको दाबी गरे। चालू आर्थिक वर्षको अहिलेसम्मका आर्थिक सूचकांकहरु प्रस्तुत गर्दै अर्थतन्त्र बाहिर हल्ला भएजस्तो नबिग्रिएको दाबी उनले गरे।
उनले भने, ‘अर्थतन्त्रमा ठूलो संकट आएको छैन। यो विषयलाई राजनीतिकरण गरिएको छ। जनतालाई हतोत्साही बनाउने काम भएको छ।’
पत्रकार सम्मेलनमा अर्थमन्त्रीले अर्थतन्त्रमा संकट आउन नदिन विभिन्न उपाय अवलम्बन गरिएको बताए। सरकारी कर्मचारीको इन्धन सुविधा २० प्रतिशत कटौती गरिएको जानकारी उनले दिए।