काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा श्रीलंकाको जस्तै आर्थिक संकट आउन सक्ने भन्दै त्यसमा सचेत रहनुपर्ने बताएका छन्। आर्थिक संकटका कारण श्रीलंकाली अर्थमन्त्री भाग्न लागेको उल्लेख गर्दै नेपालमा पनि अर्थमन्त्रीले भाग्ने दिन आउने त होइन भन्दै प्रश्न गरेका छन्।
'श्रीलंकामा अर्थमन्त्री भाग्दैछन अरे। कतै नेपालमा यस्तो दिन आउने त होइन?,' पाण्डेले प्रश्न गरे।
अर्थतन्त्रको अवस्थाबारे एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डले अहिलेको अवस्थामा गभर्नरलाई निलम्बनमा राख्ने सरकारको कदम गलत भएको बताएका थिए।
सरकारले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएको तर उसको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाए। 'राष्ट्र बैंक स्वायत्त निकाय हो। मन्त्रालयको अधीनको अंगको रुपमा प्रयोग भयो। राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरियो,' पौडेलले भने, 'मौद्रिक नीतिमा पनि सरकारले आवश्यकता अनुसार परिमार्जन गर्न नदिने गरी हस्तक्षेप गर्यो। गभर्नर महाप्रसाद अधिकारी अब्बल हुँदाहुँदै सरकारको अवाञ्छित हस्तक्षेप गरेको छ। यो निन्दनीय काम भएको छ।'
सरकारलाई सच्चिन आग्रह गर्दा गभर्नर निलम्बन गरिएको उनको आरोप थियो। सरकारले निर्णय सच्याउनुपर्ने, अन्यथा मुलुकको अर्थतन्त्र थप समस्यामा पर्ने एमालेको चेतावनी छ।
‘अर्थशास्त्री, अध्येताहरूले मुलुकको अर्थव्यवस्था जोखिम उन्मुख रहेको निष्कर्ष निकाल्नुभएको छ,’ पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले भने, ‘सचेत भएर सार्थक हस्तक्षेप गर्न सकेनौं भने मुलुक श्रीलंका हुनबाट रोक्न सक्दैन।’ प्रधानमन्त्री र अर्थमन्त्रीले 'नेपाल श्रीलंका हुँदैन' भनेर दाबी गर्नुको कुनै तुक नरहेको समेत उल्लेख गरेका थिए। आफूहरूले सरकार छोड्दा अर्थतन्त्र सबल र सुदृढ भएको समेत एमालेको दाबी छ। पौडेलले आफ्नो सरकारले ७ प्रतिशतसम्म आर्थिक वृद्धि गरेको दाबी गरेका थिए।