आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यौन हिंसा गर्ने शिक्षकविरुद्ध यसरी उत्रिए विद्यार्थी

यौन हिंसा गर्ने शिक्षकविरुद्ध यसरी उत्रिए विद्यार्थी

विद्यार्थी सबैको एउटै गुनासो थियो- शिक्षक विमलप्रकाश देवकोटाबाट यौनहिंसामा पर्‍यौँ। अब हामी उहाँसँग पढ्दैनौं। प्रधानाध्यापकलाई यो विषय नौलो थिएन। किनकि यसभन्दा अगाडि पनि विद्यार्थी पटकपटक यौनहिंसामा परेकोको कुरा उनलाई जानकारी थियो।
 |  आइतबार, चैत २७, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, चैत २७, २०७८

काठमाडौं- चितवनको भरतपुर महानगरपालिका-१३ स्थित माध्यमिक विद्यालय गंगानगरमा गत बुधबार अन्तिम घण्टीको कक्षा सञ्चालन हुन बाँकी थियो।  कक्षा-७ मा अन्तिम घण्टी शिक्षक विमलप्रकाश देवकोटाको थियो। देवकोटा कक्षामा प्रवेश गरे। तर विद्यार्थी भने कक्षामा सहभागी नहुने भन्दै बाहिर निस्किएर प्रधानाध्यापकको कार्यकक्षमा पुगे। प्रधानाध्यापक र सहप्रधानाध्यापक कार्यकक्षमै थिए। 

triton college

विद्यार्थी सबैको एउटै गुनासो थियो- शिक्षक विमलप्रकाश देवकोटाबाट यौनहिंसामा पर्‍यौँ। अब हामी उहाँसँग पढ्दैनौं। प्रधानाध्यापकलाई यो विषय नौलो थिएन। किनकि यसभन्दा अगाडि पनि विद्यार्थी पटकपटक यौनहिंसामा परेकोको कुरा उनलाई जानकारी थियो। 

एक जना मात्रै होइन, विद्यालयका दुई शिक्षकबाट यौन हिंसा हुने गरेको विद्यालयलाई जानकारी थियो। त्यसपछि प्रधानाध्यापक र सहप्रधानाध्यापकले बिहीबार अभिभावक बोलाउने र कारबाही गर्ने विषयमा छलफल गर्ने बताए। त्यसदिन प्रधानाध्यापक र सहप्रधानाध्यापकसहित विद्यार्थीहरु कक्षामा सहभागी भए। 

यसभन्दा अगाडि पनि विद्यालयका निमावि तहका स्थायी शिक्षक देवकोटा  र प्रावि तहका स्थायी शिक्षक फणीन्द्र भट्टराईबाट विद्यार्थी यौनहिंसामा परेका थिए। यसअघि पनि पटकपटक यस्ता घटना हुने गरेका थिए। विद्यालय प्रशासनले विगतमा शिक्षकलाई माफी माग्न लगाएर छोड्ने गरेको थियो। 

शिक्षकद्वयले घटना दोहोर्‍याउन नछोडेपछि विद्यालयले पीडक शिक्षकलाई कारबाही गर्ने भने पनि विद्यार्थीलाई विद्यालय प्रशासनसँग विश्वास लागेन। बुधबार बेलुका केही विद्यार्थीले वडा सदस्य किशोर पौडेललाई घटनाबारे विस्तृतमा सुनाए। पौडेलले शिक्षकलाई कारबाही गर्ने विश्वास दिलाएपछि विद्यार्थी घर फर्किए। 

corrent noodles
Metro Mart
शिक्षकले पटकपटक माफी मागेपनि यौनहिंसा भने रोकिएन। सहप्रधानाध्यापक पौडेलका अनुसार हालको घटनामा विमलप्रसाद देवकोटा मुख्य दोषी देखिएका छन्।

पौडेलले बिहीबार बिहानै प्रहरीलाई खबर गरिसकेका थिए। बिहीबार बिहान १० बजे स्कुलमा अभिभावक, विद्यार्थी, शिक्षक जम्मा भइसकेका थिए। विद्यालयमा विद्यार्थी र शिक्षकबीच भनाभन सुरु भइहाल्यो। शिक्षकबाट आफूहरू हिंसामा परेको विद्यार्थीले बताए। शिक्षकले अस्वीकार गरे। शिक्षकमाथि अभिभावक जाइलागे। विद्यार्थी पनि थपिए।

विद्यालयमा कुटाकुटको अवस्था सिर्जना भएपछि प्रहरी आएर दुई शिक्षकलाई प्रहरी कार्यालाय भरतपुर लिएर गयो। विद्यार्थीले वडा कार्यालयमा पनि नाराजुलुस गरे। उनीहरुको माग शिक्षकलाई जहाँ लगिएको छ त्यहीँ गएर जुलुस लगाउने थियो, त्यसपछि वडा कार्यालयले ३ वटा गाडीमा विद्यार्थीलाई प्रहरी कार्यालय पुर्‍याएको थियो। 

विद्यालयका सहप्रधानाध्यापक माधव पौडेलका अनुसार दुई शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 'शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हालसम्म पनि विद्यालयमा कक्षा सञ्चालन गर्ने वातावारण बनेको छैन,' उनले भने। 

विद्यार्थीले आफूहरूमाथि शिक्षकबाटै पटकपटक यौनहिंसा भएको बताएका छन्। केही महिना अगाडि पनि शिक्षक भट्टराईले यौन हिंसा गरेको भन्दै विद्यार्थीले गुनासो गरेका थिए। त्यसबेला अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रशासन, विद्यार्थीलगायतको सामूहिक छलफलमा उक्त शिक्षकलाई माफी माग्न लगाइएको थियो। विद्यालय प्रशासनले अन्य कारबाही गर्ने भनेपनि अभिभावक र विद्यार्थीले एकपटकलाई माफी दिने भएपछि घटना साम्य भएको थियो।

अर्का शिक्षक देवकोटालाई पनि दुई वर्ष अगाडि यस्तै घटनामा कारबाही गरिएको थियो। विद्यार्थीहरुले विद्यालयमा जानकारी गराएपछि उनलाई पनि एकपटक माफी दिने भन्दै राजनीतिक दलहरुले घटना मिलाएका थिए। 

शिक्षकले पटकपटक माफी मागेपनि यौनहिंसा भने रोकिएन। सहप्रधानाध्यापक पौडेलका अनुसार हालको घटनामा विमलप्रसाद देवकोटा मुख्य दोषी देखिएका छन्। 'भट्टराईको भने पहिलाको केसमा जोडिएर उनलाई पनि प्रहरीले लगेको हो। शिक्षकका पछिल्ला गतिविधिबारे हामीले पनि जानकारी लिइरहेका छौं,' उनले भने। 

दुवै शिक्षकले कक्षामा छात्राका संवेदनशील अंगमा छाम्ने, होमवर्क हेर्ने बहानामा काखमा राख्ने, सुमसुम्याउने लगाएका हिंसाजन्य कार्य गर्दै आएको पीडितहरुको गुनासो छ। 

घटनाका सम्बन्धमा किटानी जाहेरी आएपछि दुवै शिक्षकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

पीडित विद्यार्थीहरुका अनुसार कक्षाका सबैलाई ती दुई शिक्षकले यौनहिंसा गरेका थिए। 'वषौंदेखि विद्यार्थीको शरीरमा सुम्सुम्याउने, संवेदनशील अंगमा दबाब दिने, छातिमा छाम्ने, यौनांगतिर हात पुर्‍याउने लगायतका क्रियाकलाप गर्दै आएका रहेछन्,' हिंसामा परेकी एक बालिकाकी अभिभावक भन्छिन्, ‘अघिल्लो वर्ष मलाई छोरीले सुनाएकी थिई। मैले सरले झुक्किएर होला भनेर धेरै वास्ता गरेकी थिइनँ। तर एकसाता अगाडि छोरीले रुँदै भनेपछि मलाई निन्द्रा लाग्न छोड्यो। त्यसपछि भने छोरीलाई पहिला अफिसमा कुरा गर्न लगाएर पछि हामी अभिभावकले कुरा गरेका हौं। मेरो छोरी मात्रै होइन, कक्षाका सबै छोरीलाई शिक्षकले नराम्रो गर्ने गरेका रहेछन्।’

शिक्षकले नै दुर्व्यवहार गरेकाले ती ‍दुवैलाई आफूहरूले कुनै पनि हालतमा छोड्न नसक्ने अर्की अभिभावकले बताइन्। 'हामी छोरीहरूको सुरक्षा चाहन्छौँ। त्यस्ता नाम मात्रका शिक्षक भएका विद्यालयमा हाम्रा छोरी सुरक्षित हुन सक्दैनन्। अब ती शिक्षकले कुनै पनि विद्यालयमा पढाउन पाउनु हुँदैन,' ती अभिभावकले भनिन्, 'यो विद्यालयबाट सरुवा गरेर पनि हुँदैन। सबैका र सबै छोरीहरू हाम्राजस्तै हुन्।'

छोरीहरूको उमेर सानो भएकाले उनीहरूले तत्काल प्रतिक्रिया जनाउन नसक्दा लामो समय पीडित भएर बस्नुपरेको कुरा बल्ल थाहा भएको अर्का अभिभावकले बताए। ‘छोरीले दिनदिनै शिक्षकबाटै हिंसा भोगेकी रहिछ। हामीलाई थाहा थिएन। अब ती शिक्षकलाई कडा कारबाही हुनुपर्छ। अब ती शिक्षक हुन्जेलसम्म हाम्रा छोरी विद्यालयमा सुरक्षित हुँदैनन्। अपराध गर्ने शिक्षकको जिम्मामा कलिला छोरी कसरी छोड्नु?’

वडा नम्बर १३ का वडासदस्य किशोर पौडेलका अनुसार ८ जना विद्यार्थीका अभिभावकले दुवै शिक्षकविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।

घटनाका सम्बन्धमा किटानी जाहेरी आएपछि दुवै शिक्षकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार उनीहरुमाथि बाल यौन दुराचारको कसुरमा अनुसन्धान भइरहेको छ। बाल यौन दुराचारको आरोपमा प्रहरीले अधिकतम २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।

बालबालिकासम्बन्धी ऐन, २०७५ मा बालबालिकाको संवेदनशील अंगमा छुनेलगातयका कार्य गरेको प्रमाणित भएमा ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 

प्रकाशित: Apr 10, 2022| 11:57 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।