काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय फस्टाउँदै गएको बताएका छन्। उनले धार्मिक, भौगोलिक र शैक्षिक पर्यटनको गतिविधि बढेकाले नेपालमा कल्पना गरेभन्दा बढी पर्यटक आउने सम्भावना रहेको बताए।
चैतेदशैँको दिन बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङमा आयोजना गरेको चैतेदशैँ मेलामा अध्यक्ष तिमिल्सिनाले धार्मिक पर्यटकको सम्भावना नेपालमा बढेर गएको उल्लेख गरे। बागलुङ कालिका, लामो झोलुङ्गे पुल, मुक्तिनाथलगायत क्षेत्रमा पर्यटकको चाप अत्यधिक रहेको उनको भनाइ छ।
'चैतेदशैँ बागलुङको पहिचानमात्रै नभएर नेपालकै पहिचान बनिसक्यो, अहिले कालिका मन्दिरमा टेक्ने ठाउँ छैन,' अध्यक्ष तिमिल्सिनाले भने, 'अब नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकीय गतिविधि हुनेछ।'
उgले ढोरपाटन, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, कालिका मन्दिर र पञ्चकोटका कारण बागलुङमा दिनानुदिन पर्यटकीय गतिविधि बढिरहेको उल्लेख गर्दै होटल, सुरक्षालगायत संरचना बढाउँदै लैजानुपर्नेमा जोड दिए।