मेलम्ची- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मेलम्ची बाढीले पुर्याएको क्षतिको अवलोकन गरेका छन्। अवलोकनपश्चात मुख्यमन्त्री पाण्डेले बाढीपीडित सरोकार समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै तत्कालका लागि नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि भू–संरक्षणमार्फत चार करोड बजेट निकासा भएको जानकारी दिए।
उनले द्रुतगतिमा काम गर्न निर्देशन दिँदै रु १० करोड रकम थप गर्ने योजना रहेकोसमेत उल्लेख गरे। मुख्यमन्त्री पाण्डेले यस भेगमा बाढीले अतुलनीय क्षति गरे भन्दै तत्काल आवश्यकता अध्ययन गरी काम थाल्न निर्देशनसमेत दिए।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, पशुपक्षी राज्यमन्त्री इन्द्रमाया गुरुङ, पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाललगायतलाई सहजीकरण गर्न आग्रह गरे।
पाण्डेले रु ५० लाखभन्दा बढी बजेटको ठेक्का गर्नुपर्ने प्रदेशको प्रावधान रहेकाले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा रु ५०–५० लाखको योजना बनाएर उपभोक्ता समितिमार्फत तत्काल कार्य गर्न अनुरोध गरे। पाण्डेलाई विज्ञको सुझावका आधारमा तयार पारेर मेलम्ची नगरपालिकालाई बुझाएको प्रतिवेदनका बारेमा समेत मेलम्ची नगरप्रमुख डम्बर अर्यालले जानकारी गराए। बाढीपीडित सरोकार समितिको तर्फबाट कार्यक्रममा समितिका संयोजक उपेन्द्र तामाङ मुख्यमन्त्री पाण्डेलाई विभिन्न माग राख्दै ध्यानाकर्षणपत्र बुझाए।
असार १ र त्यसपछिको बाढीले मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो।