रोल्पा- रोल्पा सदरमुकाम लिवाङमा सम्पन्न रोल्पा सिर्जना महोत्सव अन्तर्गत भएको कविता प्रतियोगितामा सुन्दर शिरीष प्रथम भएका छन्। वाचनका लागि छानिएका १० कवितामध्ये शिरीषको कविता पहिलो भएको आयोजकले जानकारी दिएको हो।
प्रतियोगितामा मेनुक्स अधिकारीले दोस्रो स्थान हात पार्दा सुरज पराजुली तृतीय घोषित भए। सरला क्षेत्री र उमेश पुनले सान्त्वना पुरस्कार हात पारेका छन्। प्रतियोगिताका लागि १०७ जनाले कविता पठाएर सहभागिता जनाएका थिए।
नगरपालिकाका अध्यक्ष पुरण क्षेत्रीले सशस्त्र युद्धको आधार इलाका मानिने रोल्पालाई साहित्य-भूमि बनाउन महोत्सवलाई निरन्तरता दिइएको बताए। महोत्सवको यो तेस्रो संस्करण हो।
यस्तो छ पहिलो भएको शिरीषको कविता 'देशको मानचित्र'
च्यात्तिएको–खुईलिएको,
कच्याककुचुक्क एउटा कागज
सडकपेटीबाट बेवारिसे भेट्टाएर
मेरो सानो छोराले घर लिएर आयो– जतनसाथ
र, कागज देखाउँदै सोध्यो–
‘बाबा, यो के हो ?’
मैले नियालें–
ठ्याक्कै मेरो देशजस्तै
रुग्ण मेरो देशको नक्सा
र भनें– ‘बाबु यो हाम्रो देशको मानचित्र हो ।’
उसको बालमुहार
भर्खरै देखिएको देशको नक्साजस्तै
कच्याककुच्चुक देखियो,
रंगहिन देखियो,
र, मलिन आवाजमा भन्यो–
‘बाबा कस्ले बनायो देशको मानचित्रलाई यस्तो उराठ ?’
मैले उसको अवोध मुहार हेरें,
हेरें– मेटिदै गएको देशको सीमाना
खुईलिदै गएको देशको रंग
र, म मौन रहें ।
म पनि त खोज्दै थिएँ– यहि प्रश्नको उत्तर
भगवानजस्तै मौन
मलाई हेरेर फेरि भन्यो–
‘आउनुस् बाबा, देशको मानचित्रलाई रंगीन बनाऔं ।’
उसले रंग पोत्नुपूर्व
हिमालबाट ल्याएर एक अञ्जुली माटो
पुरिदियो तराईको खाडल,
तराईबाट ल्याएर अनाजका बीऊ
छरिदियो पहाडका बाँझो बन्दै गएको धर्तिमा
र, सिईदियो एकताको धागोले
पूर्वदेखि पश्चिम– हिमालदेखि तराईलाई ।
हृदयको रंगदानीमा–
पहाडबाट ल्याएर गुराँस, भ¥यो रातो रंग
तराईका श्रमिकहरुको निधारबाट लियो पसिना,
बन्यो निलो रंग
हिमालबाट उठायो माटो मिसिएको हिउँ अक्षता,
बनजंगलबाट लियो, हरियो रंग
आमाहरुबाट लियो, ममताको रंग
बाबाहरुबाट लियो, संघर्षको रंग
गरीबहरुको ओठबाट लियो, मुस्कानको रंग
उसले ब्रस चोप्यो र रंगाईदियो
स्निग्ध देखियो हिमाल
जहाँ झुल्कियो घामका कुमारी किरण,
भातृत्व रंग सापटी लिएर पूmलायो– गुराँस
जस्ले ढपक्क ढाक्यो पहाडलाई
र, सुगन्ध फैलायो बतासले दूर दूरसम्म,
श्रमको रंग छरिदियो तराईमा
र, उम्रियो फाँटभरि कलिलो उत्साह,
उसैगरि भर्दै गयो रंग– प्रेमले ।
उसले बनायो एउटा रंगीन संसार
जसरी महाविष्फोटबाट जन्मिएथ्यो ब्रम्हाण्ड
ऊ हुम्ला पुग्यो र खोल्यो अस्पताल
बनायो ताप्लेजुङमा विश्व विद्यालय
विदेश निर्यात जगरिएका जम्मै युवालाई डाक्यो आफ्नै माटोमा
र, खोल्यो पहाडको मुटुमा औद्योगिक क्षेत्र
प्रत्येक टोलमा निर्माण ग¥यो पाठशाला
प्रत्येक गाउँमा बनायो स्वास्थ्यचौकी
जम्मा गरेर पानीको बुँद, निकाल्यो बिजुली
रोपेर जडिबुटी, बनायो ओखति
पु¥यायो बस्ती बस्तीमा सडक
बनायो मन्दिर, गुम्बा, चर्च, मस्जिद्
सीमानामा राखिदियो युवा पिलर
छरिदियो समृद्धिको फूल सबैतिर।
र, मलाई देखाउँदे भन्यो–
‘कस्तो छ मेरो देश ?’
हेर्छु,
उसको देशमा अहिले–
नानीबाबुहरु अक्षर बोकेर पाठशाला गईरहेछन् निर्वाध
फर्कदा ल्याउनेछन् झोलाभरी ज्ञानको ज्योति,
बिरामीहरु जान्छन् छेवैको अस्पताल
जहाँ उपचार हुन्छ जडिबुटीको ओखतिबाट
र, बन्नेछन् दीघायू सदा–सदा,
पर्दैन भौतारिन शिक्षित
प्रमाणपत्र बोकेर कुनै विरानो मुलुक
व्यस्त छन् युवाहरु उद्योग धन्दामा,
छैन मलको अभाव, हुँदैन चिन्ता सिंचाईको
किसानहरु फलाईरहेछन् अनाज
बेचिरहेछन् संकलन केन्द्रमा
जसबाट किनिरहेछन् सुखको अनन्त सगर ।
प्रत्येक बिहान गुड्दै आउँछ आँगनमा विकास
र, छोडेर जान्छ नयाँ–नयाँ योजनाको खबरकागज,
चुईदैन घरको छानोबाट अभाव
र, निर्धक्क सपना देख्छन् आँखाहरु,
बजिरहेछ देवालयमा एकताको घण्टा
जहाँ गुन्जिरहन्छ हरदम शान्तिको संगीत,
आकासमा देखिने तारामण्डलजस्तै चम्किरहेछ बस्तीहरु
मग्मगाईरहेछ धर्ति श्रमको सुगन्धले
फर्फराईरहेछ छ सीमानामा चन्द्र सूर्य ।
हेर्छु,
कति रंगीन भएछ– देश्
कति समृद्ध भएछ– देश
कति स्वाभिमानी भएछ– देश
तर सोच्छु–
किन बन्न सकेनन्
देशका बागडोर सम्हाल्नेहरु मेरो छोरोजस्तो
र, भेट्टिन्छ प्रत्येक पाईलामा बेबारिसे
च्यात्तिएको, खुईलिएको,
कच्याककुचुक्क परेको मेरो देश ?
प्रकाशित: Apr 09, 2022| 14:06 शनिबार, चैत २६, २०७८