काठमाडौं- देशका छुट्टाछुट्टै स्थानमा विभिन्न हातहतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जनकपुर उपमहानगरपालिका-१० बाट एक थान पेस्तोल र एक थान पेस्तोलको म्याग्जिनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शनिबार बिहान प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र सोही उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय अर्जुनकुमार सिंह रहेका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट ज७प ७९३२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ।
यस्तै रूपन्देहीको सैनामैना नगरपालिका-१ भाटा एकताटोल बस्ने दल बहादुर सुनारलाई सिसाको गोली १२ थान, फलामको टुक्रा (छर्रा) ८ थान, केप १२ थान र बारुदसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो। साथै उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँ रानिकुवा बस्ने मान बहादुर राउतको घरबाट दुई थान भरुवा बन्दुक फेला पारी बरामद गरेको छ। मान बहादुरको प्रहरीले खोजी गरिरहेको जनाएको छ।