मंगलबार, साउन २६, २०८३

बस्तीपिच्छे सिँचाइ आयोजना

रेशका सबै बस्ती समेट्ने गरी सञ्चालनमा ल्याइएका ती आयोजनामा स्थानीयवासीदेखि प्रदेश सरकारसम्मको लगानी छ।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

बागलुङ- वडाभर सिँचाइ सुविधा पुर्‍याउन काठेखोला गाउँपालिका–७ रेशमा निर्माण थालिएका सिँचाइ आयोजनाले गति लिएका छन्। रेशका सबै बस्ती समेट्ने गरी सञ्चालनमा ल्याइएका ती आयोजनामा स्थानीयवासीदेखि प्रदेश सरकारसम्मको लगानी छ। 

दुई करोड ३५ लाख ११ हजार बजेटको पखेरीडाँडा–देउराली–सिम्ले सिँचाइ आयोजना यही वर्षभित्र सक्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मल्लले बताए। पक्की कुलो निर्माण भइसकेर अहिले पाइपलाइनको काम भइरहेको उनको भनाइ थियो। गण्डकी प्रदेश सरकारको बजेटमा तीन वर्षअघि उक्त आयोजनाको काम थालिएको थियो। 

रेश खोलाको मुहानबाट साढे दुई किमी पक्की कुलो निर्माण गरेर बस्तीमा सिँचाइ सुविधा पुर्‍याइएको छ। धेरै वर्ष पहिले गाउँलेले खानेपानीका लागि ल्याएको कुलोलाई नै पक्की बनाएर सिँचाइमा प्रयोग गरिएको अध्यक्ष मल्लले बताए। 'यसबाट १५० हेक्टर जग्गा सिञ्चित हुन्छ, यो रेशकै ठूलो सिँचाइ आयोजना हो', उनले भने। 

सोही वडामा डोटा–साङ्खोला सिँचाइ आयोजना पनि सञ्चालित छ। आयोजनाको ९५० मिटर नहर बनाइएपछि अहिले किसानले सिँचाइ सुविधा पाइरहेका छन्। स्थानीय उपभोक्ता युवराज गौतमले उक्त आयोजनाबाट गोटडाँडा, सिम्ले, मरुवा, पैरैलगायत ठाउँमा सिँचाइ सुविधा पुगेको बताए।

'सिँचाइका लागि पानीको ठूलो स्रोत भएको यो आयोजनाले रेशका धेरै ठाउँलाई समेट्छ', उनले भने, 'चालू आवमा पनि थप १० लाखको बजेटबाट आयोजना विस्तारको काम हुँदैछ।' जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको बजेटमार्फत दुई वर्षअघि उक्त आयोजनाको काम सुरु गरिएको थियो। 

पहिलो वर्ष २० लाख, गतवर्ष ३० लाखको काम भएको उपभोक्ता समितिले जनाएको छ। सोही ठाउँमा विसं २०६८ मा पुरानो सिँचाइ कुलो मर्मत गर्ने क्रममा सुख्खा पहिरामा पुरिएका स्थानीय पाँच महिलाले ज्यान गुमाउनुपरेको थियो। अहिले बनेका आयोजनाबाट सिँचाइ सहज भएपछि गाउँले पनि खुसी छन्।

रेशको अर्को सिँचाइ आयोजना हो, दामगाडे। खरदाङको मुहानबाट एक हजार ५०० मिटर पाइप बिच्छयाएर सिँचाइका लागि पानी ल्याइएको उक्त आयोजनाका उपभोक्ता रामचन्द्र गौतमले बताए। आयोजनाबाट भुनिया, आलखेत, आँटारी हुँदै जिरेदीको फाँटसम्म सिँचाइ पुग्ने उनको भनाइ थियो। 

उपभोक्ता गौतमका अनुसार सिँचाइ आयोजनाबाट पानी मिल सञ्चालकले पनि लाभ लिइरहेका छन्। दामगाडे आयोजनाको मुहानबाटै अर्को सिँचाइ आयोजना पनि सञ्चालित छ। उक्त आयोजना भने स्थानीयवासीको लगानी र जनश्रमदानबाट बनाइएको हो। करिब एक हजार मिटर पाइपलाइनको यस आयोजनाबाट दामगाडेदेखि आरिमपाटासम्म सिँचाइ सुविधा पुग्छ। 

यस्तै सञ्चालनमा रहेको गाउँपालिकाको ५० लाख बजेट निर्मित  पल्लाचौरी–डोटेस्वाँरा–बिरौटा सिँचाइ आयोजनाबाट रामपास, सिम्लेलगायतका ठाउँमा सिँचाइ सुविधा पुर्‍याइएको छ। रेशमा थप अरु आयोजनाका लागि पनि प्रस्ताव अघि बढाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताए। 

बनिसकेका र निर्माणाधीन आयोजनाबाट बस्ती छेउछाउका बारीसँगै बेसीको फाँटमा बाह्रैमास सिँचाइ सुविधा पुग्ने उनको भनाइ थियो। 'रेशका एक हजार १०० घरधुरीले नै सिँचाइ आयोजनाबाट लाभ पाउँछन्', वडाध्यक्ष लामिछानेले भने, 'वर्षौंदेखि रेशका बासिन्दाले भोग्दै आएको सिँचाइको असुविधा अन्त्य हुँदैछ।'   रासस

प्रकाशित: Apr 09, 2022| 11:30 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।