काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने बताएका छन्। शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा उनले कतिपय मानिसलाई नेपाललाई श्रीलंका बनाउने रहरसमेत रहेको टिप्पणी गरे।
उनले भने ‘कतिपयलाई रहर छ, नेपाललाई श्रीलंका बनाउने तर तिनको सपना पूरा हुँदैन। तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम एकथरीहरुले गरिरहेका छन्।’
विलासिताका सामान आयातमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको उनले बताए। मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उनको भनाइ छ। उनले भने, ‘अर्थतन्त्रमा समस्या छन्, हामीले पनि भनिरहेका छौं। श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्नेहरुलाई म अपिल गर्न चाहन्छु कि यस्तो प्रचारको अन्त्य गरौं, हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु केके हुन् त्यसमा बहस गरौं।’
अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेनबीचको युद्धका कारण थप समस्या आएको बताए। उनले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव परेको तर्क गरे। अत्यधिक मात्रामा पेट्रोलियम पदार्थको आयात, अनावश्यक विलासिताका वस्तु आयात, चाहिने भन्दा बढी गाडी आयात भएकाले अर्थतन्त्रमा समस्या आएको उनको भनाइ छ।
अहिलेको डलर सञ्चिति साढे ६ महिनालाई पुग्ने रहेकाले योभन्दा तल नझरोस् भनेर सतर्क हुनुपर्ने अवस्था रहेको उनले बताए। राष्ट्र बैंक अर्थ मन्त्रालयको सल्लाहकार भएको बताउँदै उनले आफूले नबुझेको कुरा पनि राष्ट्र बैंकसँग सोध्ने गरेको सुनाए।