काठमाडौं- उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ आजबाट खुला भएको छ। कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले साधारण सेयर बिक्री सुरु गरेको हो। त्यसमध्ये ०.५० प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने २ लाख २१ हजार १५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।