काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेका छन्। भारतबाट बिजुली पाउन छोडे पनि नेपालका औद्योगिक ग्राहकमा गरिएको अघोषित लोडसेडिङ अन्त्य भएको उनको भनाइ थियो।
उनले भने, ‘अहिले कुनै पनि उद्योगमा लोडसेडिङ छैन। पिक आवरमा र प्रसारणलाइनमा समस्या हुँदा केही उद्योगमा १–२ घण्टा बिजुली काटिन्छ होला। बाँकी कहीँ कतै लोडसेडिङ छैन।’
बुधबार ऊर्जा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले अहिले सबै समस्या समाधान भइसकेको बताए। केही दिन बिजुली आपूर्तिमा समस्या हुँदा निजी क्षेत्रले विद्युत प्राधिकरणसँग राजनीतिक निसाना साँधेको घिसिङले आरोप लगाए। उनले भने, ‘निजी क्षेत्रले बिजुली नपाएको भनेर विज्ञप्ति जारी गरिरहेका छन्। अहिले उनीहरुले पूर्णतया राजनीतिक कुरा गरिरहेका छन्।