सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दिव्यदेवलाई लाग्छ- हारेका चरित्रसँग अझ धेरै कथा हुन सक्छन्

वास्तविक जीवनमा कुलतमा नफसेका दिव्यले मदन हुुनुको सकस शब्दमा भन्न सक्दैनन्। किनकि दिव्यलाई गाउँबाट काठमाडौं आउँदा पहिला त भाषामै समस्या थियो।
 |  शनिबार, चैत ५, २०७८
nespernesper

राज सरगम

राज सरगम

शनिबार, चैत ५, २०७८

काठमाडौं– चलचित्र ‘चिसो एष्ट्रे’को एक गाउँले केटो हो मदन! काठमाडौं खाल्टोमा पसेपछि ऊ ट्याक्सी चलाउँछ। ट्याक्सी चलाउने क्रममा भेटिएका प्यासेन्जरले उसलाई क्रमशः सहरभित्रको आधुनिक केटो बन्न सघाउँछन्। ऊ सहरीया बन्दाबन्दै एकदिन सहरभित्रकै ‘चिसो एष्ट्रे’ गल्लीको ‘पावरफुल’ व्यक्ति बन्न पुग्छ। यो चरित्र सुरुमा साह्रै गाह्रो लागेको थियो कलाकार दिव्यदेव पन्तलाई। भन्छन्, ‘सुटिङमा गएको केही दिन साह्रै अलमलिएँ। बिस्तारै रिदममा आएँ।’

triton college

२०७२ सालको भूकम्पको आसपास उनले मदनलाई अनामनगरमा पहिलोपटक सुनेका थिए। युनियन हाउसको पछाडिको कुनै चारतले घरको माथि बसेर निर्देशक डिन्सले जब मदनको चरित्र सुनाए, दिव्य अवाक् भए। भन्छन्, ‘एकदुई बानी बाहेक मदन मजस्तै चरित्रको थियो, जोसँग म लोभिएँ।’ 

बैतडी जिल्लामा जन्मिएका दिव्यको बाल्यकाल धनगढीमा बित्यो। एसएलसी दिएर काठमाडौं खाल्टोमा आए। रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता पढे। अनि ओस्कार कलेजको पढाइ र थियटरको अभिनय पनि अगाडि बढाए। पहिलोपटक उनले नाटक ‘पर्गेटरी’मा अभिनय गरे। चलचित्र ‘आवरण’मा पनि देखिए। अभिनयसँगै उनले सहरका गल्लीगल्ली छाप मार्न थाले। उपत्यका खाल्टोमा आफूलाई बिन्दास हिँडाए। भन्छन्, ‘मदनले त कम्तीमा ट्याक्सी चलायो मैले त त्यो पनि गरिनँ। गन्तव्य फरक भए पनि हरेक गाउँबाट झरेका युवालाई काठमाडौंमा स्थापित हुने कसरी भन्ने नै हुन्छ।’

तर सबै सपना पूरा हुँदैनन्। गाउँबाट सहर आएको मानिसको सपना कसरी एस्ट्रेको चुरोटझैं निभ्दै जान्छ। मदन पनि आफूलाई स्थापित गर्न भौंतारिएको चरित्र नायक हो। तर, दुर्भाग्य मदनले सहरमा भेट्ने साथीहरु सबै ऊजस्तै सरल, सोझा हुँदैनन्। 

मदनका साथीहरु धुम्रपान, मद्यपान र लागु औषध बढी नै प्रयोग गर्छन्। मदनले पनि सिक्दै जान्छ। मदनले झैं दिव्य पनि यो सहरको बार, रेष्टुरेन्ट तथा क्लबहरुमा नपुगेका भने होइनन्। पुगे पनि मदनले झैं लत बसालेनन् उनले। भन्छन्, ‘यो खाल्टोमा आउने कोही न कोही युवाले सहरको नक्कल त गर्छ–गर्छ। मैले पनि गरें। तर मदनले जस्तो लतै बसालिन।’

Metro Mart
vianet

वास्तविक जीवनमा कुलतमा नफसेका दिव्यले मदन हुुनुको सकस शब्दमा भन्न सक्दैनन्। किनकि दिव्यलाई गाउँबाट काठमाडौं आउँदा पहिला त भाषामै समस्या थियो। अहिले पनि स्थानीय लवज कही न कही मिसिने बताउँछन् दिव्य। सहरीया हुन त धेरै कुराको आवश्यकता पर्छ। बोल्ने शैली, तडकभडक जीवनशैली, निडरपन, सबैथोक जानेको, वेस्टर्न कल्चर बुझेको, गफ दिन जानेको आदि इत्यादि सपना देख्न जानेको। यस्तैयस्तै। दिव्यलाई यस्ता कुरा बुझ्न धेरै वर्ष लागेको थियो तर मदनलाई लागेन। किनकि मदन सहरीया युवासँग छिटो घुलमिलियो। मदन बदलिँदो पात्र हो। उनी भन्छन्, ‘मदनजत्तिको लाइफ मैले वास्तविक जीवनमा बाँच्न पाएको छैन।’

हुन त दिव्यलाई भिडभाड कमै मन पर्छ। उनी एकान्त रमाउन सक्छन्। एकान्तमा किताब पढ्न रुचाउँछन्। कि गीत कविता कोर्न रुचाउँछन्। मदन एक ‘जर्नी’ लाग्छ दिव्यलाई। भ्यालीभित्र उसले आफूलाई गाउँलेबाट सहरीयातिर ‘ट्रान्सफर्म’ गर्छ। यसकिसिमको ट्रान्सफर्म दिव्यले मदनजति छिटो गर्न नसकेको स्वीकार्छन्। ‘मसँग नजिक छ मदन पात्र। मदनले भोगेको आनीबानी र दुःख मैले नभोगेपनि केही केही मिल्छ’, भन्छन्, ‘मदन र मेरो ‘एसेन्स’ चाहिँ एउटै हो। म मात्रै होइन सायद काठमाडौं खाल्डोमा आउने युवाहरुको हो।’ 

मदन काठमाडौं खाल्डोमा ट्याक्सी मात्रै चलाउँदैन, ऊ फुर्सदमा कविता र गीत पनि कोर्छ। यो बानी भने दिव्यसँग हुबहु मिलेको छ। दिव्य अष्ट्रेलिया जानु अगाडि खुबै गीत, कविता कोर्थे। गीत तथा कविताहरु उनी साथीसर्कलमा सुनाउँथे। चलचित्र चिसो एष्ट्रेको मदन पनि गीत लेख्छ। आफ्नो साथी ‘रोनी’ले त्यसलाई कम्पोज गर्छ, गाउँछ। ‘एक समय म पनि मदनजस्तै कविता कोर्ने गर्थें। त्यसले पनि मलाई अभिनयमा डुब्न सजिलो बनाइदियो,’ उनले भने। 

मदन चिसो एष्ट्रेमा अभिनय मात्रै गर्दैन। उसले आफ्नो कथा पनि काव्यात्मक शैलीमा भन्छ। कविताका लाइन जस्ता लाग्छन् उसको कथा बाचनशैली। मदनको अभिनय र कथा बाचनमा दिव्यलाई कथा बाचन अझै गाह्रो लागेको थियो । भन्छन्, ‘पहिलोपटक डब गरेको हटाइयो। अलिकति स्लो भयो। भावुक हुने हुन् कि दर्शक भन्ने लागेर फेरि फास्ट कथा बाचन गरियो। यो पनि सिकाइ हो।’

०००

कथा सुन्नु र त्यो कथाका पात्रमा आफूलाई ढाल्नु पक्कै गाह्रो कुरा हो। यस्तै गाह्रो भएको थियो दिव्यलाई मदन हुन। गाउँबाट एसएलसी दिएर काठमाडौं आए। काठमाडौंका गल्लीमा उनले पनि सहरिया हुन थोरबहुत संघर्ष नगरेका होइनन्। मदनले जस्तो ट्याक्सी चलाउनु परेन, चिसो एस्ट्रेको मदनलाई मदन बनाउन खोज्ने ट्याक्सी दिव्यका लागि जादुयी पात्र हो भन्ने लाग्छ, जसको बारेमा उनै पनि बेखबर थिए। मदनको कोठामा रोबर्ट डिनिको फोटो छ। डिनोको फिल्मको ट्याक्सी याद पनि नगरेका होइनन् उनले। 

यदि ट्याक्सी हँुदैनथ्यो भने के मदन हुन्थ्यो भन्ने प्रश्न नआइरहन सक्दैन। हुन त कथालाई बोकेर हिँड्ने पात्र मदन भन्दा नि पावरफुल ट्याक्सी हो। तर मानवीय पक्षलाई हेर्ने हो भने मदन मुख्य पात्र लाग्छ। यति हुँदाहुँदै पनि ट्याक्सीसँग उनको गहिरो नाता गाँसियो। उनी भन्छन्, ‘सुटिङ सकिएको डेढ वर्षपछि त्यही कार भेटें। एकदम जिर्ण अवस्थामा थियो। किन फ्याँकिदिएका होलान् जस्तो भयो। साह्रै भावुक भएँ।’ 

०००

अग्लो कद, पातलो ज्यान, चुच्चो अनुहार भएका दिव्यदेव अभिनय उम्दा गर्छन्। यत्तिका बाबजुद पनि उनलाई चिसो एष्ट्रेको मदन हुन सहज थिएन। उनी चिसो एष्ट्रेको अडिसन दिइरहँदा पातलो थिए। दिव्य अभिनित नाटक ‘ह्याम्लेट’ हेरेका थिए डिन्सले। त्यो अभिनय नै दिव्यका लागि माध्यम बन्यो। शैली, कस्टम, सेम टाइम स्टाइलिस, रियालिष्टिक एक्टिङ मदनको बलियो पक्ष लाग्छ उनलाई। भन्छन्, ‘पहिला आफ्नो चरित्रले कन्फ्युजिङ भएको थियो। सुटिङमा गएको केही दिनपछि रिदममा आएँ।’ हरेक पात्र पहिला दुविधा बनाउँछन् भन्ने लाग्छ उनलाई। पछि ती पात्रसँग आत्मियता गाँसिदै गएपछि आफूलाई, आफूजस्तो लाग्दैन भन्ने बुझाइ छ उनको। भन्छन्, ‘गर्दै जाँदा पात्रको बुझाइले म्याचोर्ड बनाउँदै लैजाँदोरहेछ र दिव्य देव रहँदो रहेनछ।’ 

पहिलोपटक अंग्रेजी फिल्म ‘द टर्मिनल’ हेरेपछि जीवनमा पात्रमाथि गम्भीर भएका थिए उनी। आफ्नो चरित्रलाई एक कलाकारले कति मेहनतका साथ न्याय गर्नुपर्दोरहेछ भन्ने द टर्मिनलको ‘भिक्टर’लाई देखेर भएको बताउँछन् दिव्य। भन्छन्, ‘सन् २००८ मा अष्ट्रेलिया पुुगेर २ वर्षमै नेपाल फर्किएको थिएँ। त्यहाँ पहिलोपटक द टर्मिनल हेरे। टम ह्याग्सको ‘भिक्टर’ चरित्रले मलाई बदलिदियो। २५ नाटकमा दिव्यले नाटक नै गरिसकेका छन् भने करिब १८ त अंग्रेजी नाटक नै गरेका छन्। ‘ह्यामलेट’, ’लुक ब्याक इन एन्गर’, ‘सान्दाजुको महाभारत’, ‘सेम टाइम नेस्कस्ट इयर’लगायतका नाटकमा आफ्नो अभिनयको प्रखरता देखाइसकेका दिव्य प्रदर्शन हुन बाँकी ६ फिल्मका अभिनेता हुन्। यसअघिका फिल्म ‘नागरिक’, ’सुपर हिट’, ’आवरण’ले ठूलो पर्दामा उनलाई खासै चिनाएन। प्रदर्शन पर्खिरहेको ’रुदाने’, ’डाकिनी’, ’चिसो एस्ट्रे’, ’हिजो आजका कुरा’, ’किया’, ’राधा’ले भने पर्दामा आफूलाई स्थापित गराउनेमा उनी आशावादी देखिन्छन्। भन्छन्, ‘केही फिल्म खेले पनि डेब्यु फिल्म चिसो एष्ट्रे हो भन्दा फरक पर्दैन। किनकि म मदनको चरित्रमा आफूलाई जिवन्त पाउँछु।’ 

०००

जीवनमा एकपटक नायक हुन कसलाई मन हुँदैन र। तर नायक हुने अवसर सबैले पाउँदैनन्। मदन काठमाडौं खाल्डोमा यसरी फस्न पुग्छ कि उसलाई आफ्नै साथी ‘ज्याकी’सँग लड्नुपर्छ। ऊ नायक हुन बाध्य हुन्छ। अलिकति आफूले मन पराएको केटी, अलिकति आफूलाई स्थापित गर्नका खातिर। उसलाई लड्न मन नहुँदा नहुँदै पनि ऊ लड्छ र जित्छ। मदनको जित नै नायकत्व हो। लड्ने भनेका नै नायक हुन्। निर्देशकले चिसो एष्ट्रेको अन्तिममा नायक मदनलाई नायक बनाउन कोसिस गरे पनि दिव्यलाई चरित्र प्रधान फिल्मले नै छुने बताउँछन्। र आफूलाई पनि चरित्र अभिनेता भन्न रुचाउँछन्। 

‘चरित्र नै नायक हो भन्ने लाग्छ मलाई,’ उनले भने। दुईचार गुण्डा कुट्ने, डाँडाकाँडा हिरोइनलाई घुमाउँदै गीत गाउने मात्रै हिरो हुन्छन् भन्ने लाग्दैन। हिरोले जित्नैपर्छ भन्ने लागेपनि चरित्र पात्रले जित्नै पर्छ भन्ने हुँदैन। ‘हिरो भन्दा नि चरित्र हिरो हुन रुचाउँछु। पात्रको चरित्र नै हिरो हो’, उनी भन्छन्, ‘हारेका चरित्रले पनि सधैं छाप छोड्न सक्छन्।’ 

रंगमञ्चलाई अभिनयको आधार मान्ने दिव्यले रुपचन्द्र विष्टको जीवनमा आधारित फिल्म ‘रुदाने’मा रुदानेको चरित्र निर्वाह गरेका छन्। यसमा पनि उनले आफ्नो चरित्रमाथि विश्वास जगाएका थिए। तर फिल्मको प्रदर्शन मिति पछाडि सरेपछि अहिले उनका अगाडि मदनले आफूलाई चिनाउनेमा ढुक्क छन्। र पनि दिव्यलाई मदनको चरित्र स्थापित हुन्छ भन्नेमा पूर्ण विश्वासचाहिँ छैन। मदनले दिव्य देवलाई भन्दा पनि मदन स्वयम्लाई स्थापित बनाउन सके हुन्थ्यो भन्ने लाग्छ। भन्छन्, ‘मदन सहर पसेको तमाम युवाहरुको प्रतिनिधि पात्र हो त्यसैले म भन्दा पनि ऊ स्थापित हुनुपर्ने हो भन्ने लाग्छ।’

प्रकाशित: Mar 19, 2022| 12:45 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।