शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

किन सुरक्षित छैनन् सडक?

चालू आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन) मा सडक दुर्घटनामा परी १६ सयभन्दा बढीले ज्यान गुमाएको तथ्यांक प्रहरीसँग छ।
 |  शुक्रबार, फागुन २७, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, फागुन २७, २०७८

काठमाडौं– बिहीबार बिहानै संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए। घाइते पाँच जनाको धरानमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको बस घुम्तीमा मोडिन नसकेर सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

triton college

यो त ताजा घटना भयो। सडक दुर्घटनाका कारण दैनिक नै मानिसले ज्यान गुमाइरहेका छन्। चालू आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन) मा सडक दुर्घटनामा परी १६ सयभन्दा बढीले ज्यान गुमाएको तथ्यांक प्रहरीसँग छ। 

सडक विभागका उपमहानिर्देशक इन्जिनियर शिवप्रसाद नेपाल सडक दुर्घटनाका कारण थुप्रै हुन सक्ने बताउँछन्। खासगरी उनले पाँच वटा कारण औंल्याएका छन्। ‘एउटा सडकको संरचना हो, जसमा निर्माण र मर्मतका कुरा पर्छन्। अर्को सवारीसाधनको अवस्था हो। तेस्रो कारक चालकको गैरजिम्मेवारी पनि हो। चौथो समन्वय अभाव हो भने पाँचौं कारण कानुनी प्रावधान,’ उनले भने। सडक विभाग सडकको संचरनासँग मात्र जोडिने भएकाले सडक दुर्घटना न्यूनीकरणका लागि सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए।

‘सडकको अवस्था राम्रो भयो, सवारी ओभरलोड भएन, सवारीको गति तीव्र भएन, बेला–बेलामा सवारी मर्मत गरियो, मादक पदार्थ सेवन गरेर सवारी चलाइएन भने दुर्घटनामा कमी आउँछ,’ नेपाल भन्छन्, ‘दुर्घटना भइहाल्यो भने पनि समयमै समन्वय भयो भने ठूलो मानवीय क्षतिबाट बचाउन सकिन्छ।’

तीव्र गतिमा सवारी हाँकेर अमूल्य मानव जीवन नगुमाउन उनी सुझाव दिन्छन्– ‘सानो लापरबाहीले ठूलो क्षति हुने भएकाले रत्तिभर लापरबाही नगरौं।’

Metro Mart
vianet

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले पनि सडक दुर्घटनाका उस्तै कारण औंल्याए। ‘ट्राफिक नियमको उल्लंघन, तीव्र गति, ओभरटेक, चालक निदाउनु, मोबाइलको प्रयोग र मापसे नै दुर्घटनाका मुख्य कारक हुन्। यान्त्रिक गडबडीले पनि दुर्घटना हुन्छ,’ उनले भने।

यस्तो छ दुर्घटनाको प्रदेशगत तथ्यांक

प्रदेश १

प्रदेश १ मा पछिल्लो चालू आवको ८ महिनामा २४८० सवारी दुर्घटनामा परेका छन्। ती दुर्घटनामा परी ३ सय ३८ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा महिला ४९, पुरुष २७०, बालबालिका २० जना रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यस्तै सोही अवधिमा दुर्घटनामा परेर ७ सय ५३ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा महिला १ सय २६, पुरुष ५ सय ६३, बालबालिका ६४ जना रहेका छन्। यस्तै महिला, ७६६, पुरुष २४१३, बालबालिका ३८० गरी ३ हजार ५ सय ६९ जना सामान्य घाइते भएको तथ्यांक प्रदेश ट्राफिक प्रहरीसँग छ।

मधेश प्रदेश

साउनयता मधेश प्रदेशमा तीन हजार ४९ सवारी दुर्घटनामा परे। ती दुर्घटनामा ३ सय ३९ जनाले ज्यान गुमाएको तथ्यांक छ।

मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयसँग भएको तथ्यांक अनुसार साउनयता तीन हजार ४९ सवारी दुर्घटना भएकोमा ४ हजार ४ सय ६५ सवारी संलग्न रहेका छन्। समथर भूमिमा तीव्र गतिमा सवारी हाँक्नु, छाडा चौपाया, मादक पदार्थ सेवनलगायत कारणले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

बागमती प्रदेश

बागमती प्रदेशमा पनि सवारी दुर्घटनाको डरलाग्दो अवस्था छ। आठ महिनामा बागमती प्रदेशमा सवारी दुर्घटनामा परी २ सय ४८ जनाले ज्यान गुमाएका छन्। १ हजार १ सय ३५ सवारी दुर्घटना भएकोमा उक्त संख्यामा ज्यान गुमाएका हुन्।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र बर्तौलाका अनुसार सोही अवधिमा दुर्घटनामा परी ६ सय ५४ जना गम्भीर घाइते भएका छन्। १ हजार ७ सय ७३ जना गम्भीर घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

गण्डकी प्रदेश

यस्तै गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको ८ महिनामा १ सय ६५ दुर्घटना भएका छन्। जसमा  ३ सय ५० सवारी संलग्न रहेका छन्। दुर्घटनामा परी १ सय ५५ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र श्रेष्ठले बताए। ज्यान गुमाउनेमा १ सय १५ पुरुष, २५ महिला, १५ बालबालिका छन्। सोही अवधिमा दुर्घटनामा परी ४ सय ३४ जना घाइते भएका छन्। घाइतेमध्ये पुरुष २ सय ५८, महिला १ सय १४ र बालबालिका ६२ जना रहेका छन्। 

लुम्बिनी प्रदेश

लुम्बिनिमा पछिल्लो आठ महिनामा ६ सय ७१ सवारी दुर्घटना भएका छन्। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ती दुर्घटनामा परी ३ सय १५ जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा पुरुष २ सय २६, महिला ६१, बालबालिका २८ जना रहेका छन्। यस्तै दुर्घटनामा परी ६ सय २५ जना गम्भीर घाइते भएका छन्। जसमा पुरुष ४ सय ३३, महिला १ सय २५, बालबालिका ६७ जना रहेका छन्। 

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा २ सय ६६ सवारी दुर्घटना भएका छन्। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी विरेन्द्र विश्वकर्माले ती दुर्घटनामा परी १ सय ३३ जनाले ज्यान गुमाएको बताएका छन्।

दुर्घटनामा परी २ सय ५३ जना गम्भीर घाइते भएका छन्। अप्ठ्यारो पहाडी बाटो दुर्घटनाको प्रमुख कारण भएको उनको भनाइ छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा ३ सय २७ सवारीसाधन दुर्घटनामा परेका छन्। विभिन्न स्थानमा भएका दुर्घटनामा सो अवधिमा ८६ पुरुष, १९ महिला र आठ बालबालिका गरी कुल ११३ जनाले ज्यान गुमाए।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीका अनुसार सो अवधिमा दुर्घटनामा १८३ पुरुष, ३४ महिला र २५ बालबालिका गरी कुल २४४ जना गम्भीर घाइते भएका छन्। 

प्रकाशित: Mar 11, 2022| 15:30 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।