किभ- रुस र युक्रेनबीचको युद्ध बढ्दै जाँदा रुसको केन्द्रीय बैंकले नयाँ आर्थिक प्रतिबन्धका कारण बैंक सञ्चालनका लागि नै समस्या सिर्जना हुनसक्ने भन्दै शान्ति अपनाउन आग्रह गरेको छ। बैंकले धेरै मानिसहरुले नगद झिक्न थालेपछि नगद अभावको संकट निम्तिएको हो।
रुसी बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'रुसको बैंकहरुले आर्थिक स्थायित्व र आर्थिक क्षेत्रको सञ्चालनका लागि स्रोत र साधन आवश्यक छ। त्यसकारण नागरिकहरुले अधिक नगद झिक्दा समस्या हुनसक्छ।'
युरोप, अमेरिका, बेलायत र क्यानडाले शनिबार रुसको केन्द्रीय बैंकको सम्पत्ति फ्रिज गरिएको घोषणा गरेका थिए। उक्त घोषणा सँगै रुसको करिब ६३० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति फ्रिज गरिएको हो।'
त्यसैगरी युक्रेनी सेनाले रुसी आक्रमणविरुद्ध नागरिक प्रतिरोध आन्दोलन गर्न सर्वसाधारणहरूलाई अपिल गरेको छ। 'तपाईँहरूसँग हतियार वा गोलीगठ्ठा छ या छैन, सबै सम्भव उपाय र लडाइँको विधि प्रयोग गर्नुहोस्,' युक्रेनी सेनाले आग्रह गरेको छ।
सेनाले नागरिकलाई सडक चिन्ह भत्काउन, रुख ढालेर आवतजावतमा अवरोध पुर्याउन, घरमै बनेका प्रज्वलनशील पदार्थ प्रयोग गर्न, प्रमुख सडकमा क्षति पुर्याउन र राति वा झिसमिसेमा बढी सक्रिय हुन आग्रह गरेका छन्।
सडकमा आउन रुसी नागरिकलाई अपिल
रुसमा रहेका युद्धविरोधी अभियानकर्मीहरूले युक्रेनमाथि भएको आक्रमणविरुद्धको आन्दोलनमा सहभागी हुन थप मानिसहरूलाई आह्वान गरेका छन्। रुसी सत्ताको विपक्षमा उभिएका बोरिस नेमत्सोभको हत्या गरिएको वार्षिकी पारेर यस्तो अपिल गरिएको हो।
पूर्वी युक्रेनमा भएका हिंसाको कडा शब्दमा विरोध गर्ने उनलाई सन् २०१५ मा क्रेमलिन नजिकै हत्या गरिएको थियो। एउटा स्वतन्त्र पर्यवेक्षक समूहले बिहीवार रुसी अतिक्रमण सुरु भएका तीन हजार रुसीहरूलाई गिरफ्तार गरिएको जनाएको छ।
त्यसैगरी फिनल्यान्ड र आयरल्यान्डले रुसी विमानका लागि आफ्नो आकाश बन्द गर्ने घोषणा गरेका छन्। कहिलेदेखि सो निर्णय लागु हुन्छ भन्ने कुरा स्पष्ट छैन। फिनल्यान्ड र रुसबीच १,३०० किलोमिटर लामो सीमा छ। यसर्थ रुसबाट पश्चिमतर्फ जाने हवाई मार्ग बन्द हुनेछन्।
चेक गणतन्त्र, इस्टोनीया, जर्मनी, पोल्यान्ड र यूकेले यस्तै निर्णय गरिरहेका छन्। रुसले पनि ती देशहरूको विमानलाई आफ्नो आकाशमा उड्न रोक लगाइसकेको छ। - बीबीसी