किभ- युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ।
युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन्। मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ।
पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन्। घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ।
देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खवर पठाए पनि उनले अस्वीकार गर्नु भएको छ। अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उनलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेको जनाएका छन्।
अमेरिका अधिकारीहरूलाई उनले जवाफ दिएका छन्, 'यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन। म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु।'
विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहेका उनले शत्रुले आक्रमण गरिरहने र त्यसको सामना आफूले गरिरहने अठोटसहित उनले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेका थिए।
---