किभ- युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ। युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो।
युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गर्नु भएको समाचारमा जनाइएको छ।
'अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,' उनले भने।
उनले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेबारी निर्वाह गर्न युक्रेन तयार छ।
युक्रेनमा रूसी आक्रामणको निन्दा गर्ने प्रस्ताव विफल
युक्रेनविरुद्ध रूसको ‘आक्रामण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसीे फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताब संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन सकेन।
शुक्रबारको रूसको आक्रमणको विरोध गरिएको उक्त प्रस्तावलाई रूसले भिटो लगाएका कारण विफल भएको हो। रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए। प्रस्ताव पारित हुनका लागि ९ देशको मत परेको भए हुनेथियो। तर रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो।
रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषदका स्थायी सदस्य हुन् र उनीहरुमाथि भिटो शक्ति छ। रुसले आफ्नो निन्दा गरिएको प्रस्ताव विफल पार्नका लागि भिटो प्रयोग गरेको हो। प्रस्तावमाथि मतदान हुँदा भारत, चीन र युएई अनुपस्थित रहेका हुन्।
संयुक्त राज्य अमेरिका र अल्बेनियाद्वारा सह–लेखन गरिएको यस प्रस्तावमा परिषद्का १५ सदस्यमध्ये ११ जनाले मतदान गरेका थिए भने चीन, भारत र संयुक्त अरब इमिरेट्सले सहभागिता जनाएनन्।
परिषद्को स्थायी सदस्यको रूपमा मस्कोको भिटो शक्तिको कारण यो प्रस्तावना असफल हुने निश्चित प्रायः थियो। तथापि, यस बहसले सदस्य राष्ट्रहरूलाई रूसको छिमेकीविरुद्ध पूर्ण आक्रमणको प्रक्षेपण गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णयको निन्दा गर्ने अवसर दिएको छ।
मतदानपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धले कसैलाई भलो नगर्ने जिकिर गर्दै भन्नुभयो, 'सैनिकहरू आफ्नो ब्यारेकमा फर्कनुपर्छ र नेताहरु वार्ता र शान्तिको बाटोमा लाग्नु पर्छ।'
संयुक्त राष्ट्रसंघको मतदानपछि राष्ट्रसंघका लागि अमेरिकी राजदूतल लिन्डा थोमस–ग्रीनफिल्डले भन्नुभयो, 'म एउटा कुरा स्पष्ट पार्न चाहन्छु। रुसले प्रस्तावलाई भिटो गर्न सक्नुहुन्छ, तर उसले हाम्रो आवाजलाई भिटो गर्न सक्दैन। सत्यलाई भिटो प्रयोग गर्न सक्दैन। उसले हाम्रो सिद्धान्तलाई भिटो गर्न सक्छ तर युक्रेनी जनतालाई भिटो गर्न सक्दैन।'
प्रस्तावनामा बढी समर्थन जुटाउन मतदान हुनुभन्दा केही घण्टाअघि सुरक्षा परिषद्सामु राखिएको प्रस्तावना खाकामा रहेका शब्दलाई मतदान हुनुभन्दा केही घण्टा पहिले नरम बनाइएको थियो। जस्तै- प्रस्तावनामा रहेको ‘निन्दा’ शब्दको ठाउँमा ‘गम्भीर असहमति’ गरिएको थियो र सदस्यहरूलाई शान्ति पुनः स्थापना गर्न सैन्य कारबाही गर्न अनुमति दिन्छ भन्ने संयुक्त राष्ट्रसंघको बडापत्रको अध्याय ७ को सन्दर्भलाई हटाइएको थियो।
उक्त प्रस्तावनाले युक्रेनको सार्वभौमिकतालाई पुनः पुष्टि गर्यो र रूसलाई ‘तुरुन्तै युक्रेन विरुद्ध बलको प्रयोग बन्द गर्न’ आह्वान गर्यो। अन्ततः ७० भन्दा बढी देशहरूले यस प्रस्तावनाको सह–प्रायोजन गरे।
संयुक्त राष्ट्रसंघका लागि बेलाइतका राजदूत बार्बरा वुडवर्डले भने, 'गल्ती नगर्नुहोस्, रूस एक्लो छ। युक्रेनको आक्रमणलाई कसैको समर्थन छैन।'
रूसको आक्रमणलाई ‘उत्तेजक र हठी’ भनी वर्णन गर्दै हामीलाई यस पहिले नै जानकारी भएझै यसले अन्तर्राष्ट्रिय प्रणालीलाई खतरामा पार्ने थोमस–ग्रिनफिल्डले बताएका थिए।
संयुक्त राष्ट्रसंघका लागी रूसी राजदूत भासिली नेबेन्जियाले उक्त प्रस्तावनालाई ‘रूसी र युक्रेनी विरोधी’ भनेर विरोध जनाए। उनले भने, 'हामीलाई आक्रमण को सङ्ख्याको आधारमा अमेरिकासँग प्रतिस्पर्धा गर्न कठिन छ। तपाईंले नैतिकता कायम गर्न सक्नुहुन्न।'