काठमाडौं- युक्रेनमा फसेका नेपालीलाई सरकारले स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ। युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती राष्ट्र हुँदै बाहिर निस्कन भनेको हो।
‘हिजो र आजसमेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई मानवीयताको आधारमा आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ।
सुरक्षित तवरले नेपाल फर्कनका लागि ती मुलुकतर्फ जान सकिने दूतावासले जनाएको छ। सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा कुनै समस्या भएमा वा तत्काल यात्रा अनुमतिपत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी र डिजिटल फोटो दूतावासको इमेल ठेगानामा पठाउन पनि दूतावासले आग्रह गरेको छ।
दूतावासले स्लोभाकिया पुगेपछि ००४२१९४०७७८५९४४ नम्बरमा जय प्रसाद शिवाकोटी, पोल्याण्ड पुगेपछि ००४८६०६८५२८३७ नम्बरमा बोधराज सुवेदी र ००४८७२९२१२६७३ नम्बरमा जीवन कुमार क्षेत्री र हंगेरीमा ००३६७०५३०८७९३ मा सुरेन्द्र श्रेष्ठलाई सम्पर्क गर्न भनेको छ।
रुसले गत बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको उद्धारमा सरकारले चासो देखाएको छ।
यु्क्रनेमा रहेका १९३ जना नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएको बताइएको छ। उनीहरू सबै सुरक्षित रहेको दूतावासले जनाएको छ।
जर्मनीस्थित दूतावासका अनुसार स्थायी रुपमा बसोबास गर्ने ३८ जना र युरोप र अमेरिका जाने क्रममा रहेका करिब २ सय नेपाली युक्रेनमा रहेका छन्। गैरआवासीय नेपाली संघले भने युक्रेनमा करिब ४ सय नेपाली रहेको बताएको छ।