काठमाडौं– २०४५ साल भदौ पाँच गतेको बिहान। पूर्वी नेपालको उदयपुर जिल्लास्थित मुर्कुची भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो, जसको झड्का नेपालभर थियो। ६.७ रेक्टर स्केलको त्यो भूकम्पमा परी करिब साढे सात सय मानिसले ज्यान गुमाएका थिए। साढे ६ हजारभन्दा बढी घर ध्वस्त भएका थिए। पूर्वी नेपालमा भूकम्पको तरंग रोकिन नपाउँदै राजदरबारमा अर्को भूकम्प जाने डर थियो। त्यो हो– निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध जनआन्दोलन।
विभिन्न राजनीतिक दलहरु बहुदलीय व्यवस्था पुनर्बहाली गर्न र पञ्चायती सरकारको विरुद्ध सडकमा उत्रिन जनआन्दोलनका लागि तयारी गर्दै थिए। राजसंस्था पनि यो जनआन्दोलनलाई दबाउन २०४५ बाटै गाउँगाउँमा भएका युवाहरु बटुलेर सेनामा भर्ती गर्ने अभियानमा थियो। यही सिलसिला सिरहा जिल्लाको धनगढी गाविसमा पनि चल्यो।
राजतन्त्र निकट रहेका नयनबहादुर मोक्तान सिरहा धनगढीका युवाहरु बटुलेर लहानबाट काठमाडौं ल्याउन बसमा चढाइरहेका थिए। ५० रुपैयाँको टिकट काटेर मोक्तानकै टोलीमा १५ वर्षीय महेन्द्र ठाकुर पनि मिसिए। घरमा कसैलाई थाहा नदिई राजतन्त्र निकट हुन हिँडेका महेन्द्रको काठमाडौं पुगेपछि बाटो बदलियो। मोक्तानको आँखा छलेर नयाँ बानेश्वर चोकनिरै रहेको ‘एभरेष्ट हेयर ड्रेसर’ भन्ने सैलुनमा पसे महेन्द्र। त्यहाँ कपाल काटिरहेका रामशिष ठाकुरलाई भेटे। सप्तरी राजबिराज स्थायी घर भएका रामशिषसँग आफू पनि ठाकुर भएको कुरा राखे। रामशिषले कपाल काट्ने काम दिएपछि महेन्द्रलाई ढुंगा खोज्दा देउता भेटेजस्तो भयो।
एभरेष्ट हेयर ड्रेसरको भित्री कोठामा रात काट्ने र दिनमा काम सिक्ने गर्न थाले महेन्द्रले। पुर्ख्यौली पेशा भएकाले केही केही महिनापछि कपाल काट्ने कलामा पारंगत भए उनी। एभरेष्ट हेयर ड्रेसरमा कपाल काट्न तत्कालिन जर्नेलहरु देवेन्द्रबहादुर बस्नेत र मीनशमशेर राणा पनि आउने गर्थे। उनीहरुको कपाल कटाइसँगै चिनजान पनि भयो। महेन्द्रले आफ्नो बुवा जामुन ठाकुरको नाम लिए। जामुनको नाम सुनेर देबेन्द्रबहादुर बस्नेतले महेन्द्रलाई सेनामा भर्ती हुन सल्लाह दिए।
एक वर्षपछि २०४६ सालमा पञ्चायती व्यवस्थाका विरुद्ध विभिन्न राजनीतिक दल र जनता सडकमा थिए। महेन्द्र भने देबेन्द्र बहादुर बस्नेतको पछिपछि नारायणहिटी दरबारतिर लागे।
नारायणहिटी दरबारमा पुगेपछि महेन्द्रलाई सपनाजस्तो भयो। मधेशबाट आएको किशोर, जसलाई नेपाली समेत शुद्ध बोल्न गाह्रो थियो। तर, महेन्द्र ठाकुर शाही सेनामा भर्ती हुन तयार भए।
राजतन्त्र निकट रहेका नयनबहादुर मोक्तान सिरहा धनगढीका युवाहरु बटुलेर लहानबाट काठमाडौं ल्याउन बसमा चढाइरहेका थिए। ५० रुपैयाँको टिकट काटेर मोक्तानकै टोलीमा १५ वर्षीय महेन्द्र ठाकुर पनि मिसिए।
‘पहिला त अन्योलमा परें। पछि पचास रुपैयाँको फारममा दुई रुपैयाँको टिकट टाँसेर भर्न लगाए, भरें। त्यसपछि म सेनाको मान्छे भएँ,’ महेन्द्रले सम्झिए। राजतन्त्र निकट व्यक्ति मोक्तानको आँखा छलेर भागेका महेन्द्र आखिरमा शाही सेनाका लागि दरबारमा कपाल काट्ने दरबन्दी पाए।
नौ महिना सेनाको तालिम लिए। नारायणहिटी दरबारको उत्तरी गेटको किनारमा क्वार्टर पाए। एकदिन जर्साब देबेन्द्रबहादुर बस्नेतले राजाको कपाल काट्ने कुरा सुनाए। महेन्द्र अक्क न बक्क भए। राजालाई फोटोमा मात्रै देख्दै आएका महेन्द्रका लागि सपना जस्तै भयो त्यो।
‘सक्छौ नि कपाल काट्न?’ जर्साबले सोधे।
‘सक्छु’ उनले ढुक्क भएर भने।
तालिम र दरबार परिसरभित्रको बसाइले उनको आत्मबल बढेको थियो। आफ्ना सबै सामान मिलाएर उनी जर्साबकै पछिपछि गए। शान्त र शालिन राजा वीरेन्द्र कुर्सीमा आएर बसे, महेन्द्रले कपाल काट्न थाले। ‘पहिलो भेटमा अलिकति डराएझैं भएको थिएँ। केही भन्नुहुन्छ कि भन्ने लाग्यो। तर मौसुफले केही भन्नुभएन,’ महेन्द्रले सम्झिए।
१५ वर्षको ठिटोलाई राजाको कपाल काटेर फर्किएको रात अबेरसम्म निद्रा लागेन। उनले राजकुमार दीपेन्द्र र निराजनको कपाल पनि काटे। निराजन र दीपेन्द्र भने कपाल काट्दा बोल्ने गरेको उनी सम्झिन्छन्, ‘निराजनले टुप्पी राख्न भन्नुभएको थियो तर दीपेन्द्र भने सिम्पल आर्मी कट नै काट्नुहुन्थ्यो।’
हरेक दिन कपाल काट्नुपर्थ्र्यो उनले, राजा र राजकुमारबाहेक सेनाका उच्च अधिकारीहरुको पनि। आफूलाई आवश्यक परेको सामान माग्नका लागि पत्रमार्फत बिन्ती चढाउनुपर्थ्यो। ‘आफूलाई परेको दुःखको व्यहोरा लेखेर बिन्ती चढाउने गरिन्थ्यो,’ उनले सुनाए।
दरबारमा तीन वर्ष कपाल काटेपछि महेन्द्र छुट्टी लिएर गृहजिल्ला सिरहा गए। उनी सानै हुँदा आमा बितिसकेकी थिइन्। बुबाको अनुमतिमा बिहे गरे र काठमाडौं फर्किए। त्यसपछि उनले दरबारको क्वार्ट छोडे। नयाँ बानेश्वरको शंखमूल पछाडि बागमती छेउको एक घरमा मासिक एक सय तिर्ने गरी एउटा कोठा भाडामा लिए। त्यहीँबाट ओहोरदोहार गर्दै नारायणहिटीमा दश वर्ष जागिर खाए।
क्वार्टरमा बस्दा ‘राजदरबार हत्याकाण्ड’ कहिल्यै बिर्सिन सक्दैनन् उनी। त्यो जेठ १९ को शुक्रबारको रात। दरबारको पछाडिको बाह्य दृष्य, जहाँ शीर झुकाएर भोजमा सामेल हुनुपर्थ्यो। राजारानी, राजकुमार निराजन र सेनाका ठूला ओहोदाका व्यक्तिको जमघटमा चलिरहेको भोज। महेन्द्र सम्झिछन्, ‘त्यो महाभोजबाट खाना खाएर क्वार्टरमा फर्किएको दुई घण्टाजति पछि ठूलो आवाजमा बन्दुक पड्कियो। बिहानसम्म त नारायणहिटी परिसरमा सुरक्षा निगरानी चौगुना बढ्यो। राजदरबार हत्याकाण्ड भएको खबर सनसनी भएर फैलियो। हामीले क्वार्टरबाट एक पाइला सार्न पनि पाइएन।’
महेन्द्रले राजदरबार हत्याकाण्ड भएको ठीक एक वर्ष अगाडिको घटना पनि सम्झिए। २०५७ साल पुषको महिना महेन्द्र सधैंझैं कपाल काटेर क्वार्टरमा फर्किएका थिए। कामले थकित भई फर्किने महेन्द्रको रेडियो सुन्ने बानी थियो। माओवादीको डर दरबारभित्र पनि चिन्ताको विषय बनेको बेला रेडियोमार्फत सूचना थाहा पाइराख्न हर कोही इच्छुक हुन्थे नै। झ्यालको किनारमा राखेको रेडियो उठाएर एन्टेना ताने र रेडियो खोले।
रेडियो सुन्दासुन्दै करेन्ट लागेझैं भयो उनलाई। सिरहाका कान्तिपुर संवाददाता भरत जर्घामगरले सिरहा धनगढीमा माओवादीले करिब डेढ सय मान्छे मारेको र लहान गोलबजारदेखि धनगढी गाविसलगायत ठाउँलाई घेराबन्दीमा पारेको, रुखहरु काटेर यातायात अवरुद्ध पारेको समाचार सुनाए।
रिपोर्टले माओवादीबाट मारिएका व्यक्तिको नाम पनि भन्दै गयो, जसमा महेन्द्रका बुबाको पनि नाम थियो। यो समाचारले उनलाई भाउन्न बनायो। केही नबोली बाहिर निस्किए, आफूसँगै बस्ने अर्को सेनालाई आफ्नो दुःख सुनाए। ‘त्यो समाचारले मलाई विक्षिप्त बनायो। तुरुन्तै छुट्टी मिलाएर गाउँ जान चाहें तर माओवादीको डरले जान सकिएन,’ उनले त्यो अप्ठ्यारो परिस्थिति सम्झिए।
क्वार्टरमा बस्दा ‘राजदरबार हत्याकाण्ड’ कहिल्यै बिर्सिन सक्दैनन् उनी। त्यो जेठ १९ को शुक्रबारको रात। दरबारको पछाडिको बाह्य दृष्य, जहाँ शीर झुकाएर भोजमा सामेल हुनुपर्थ्यो। राजारानी, राजकुमार निराजन र सेनाका ठूला ओहोदाका व्यक्तिको जमघटमा चलिरहेको भोज।
सिरहाको धनगढी गाविसमा राजतन्त्र निकट परिवारको बसोबास टन्नै थियो। यस्तै एउटा महेन्द्रको परिवार पनि थियो। जंगबहादुर राणाको पालामा महेन्द्रका हजुरबा रामजी ठाकुर पनि कपाल काट्थे। जंगबहादुर राणाले जनकपुरबाट हजुरबालाई लिएर काठमाडौं आएको कुरा उनका बुवाबाट सुनेको धमिलो सम्झना छ महेन्द्रलाई। राणा खान्दानको कपाल काटेर मन जितेका उनका हजुरबुवालाई राणाले बक्सिसमा धेरै विगाहा जमिन दिएको सम्झिए महेन्द्रले। भन्छन्, ‘हजुरबालाई बक्सिसमा धनगढी गाविसमै जग्गा दिएको सुनेको थिएँ। पछि त्यो जग्गामा माओवादीले सुकुम्बासी ल्याएर राख्यो।’
हजुरबा रामजी ठाकुरपछि महेन्द्रका बुवा जामुन ठाकुरले पनि राजदरबारमा १६ वर्ष सेवा गरेका थिए। दरबारमा १६ वर्ष उनका बुवाले कपाल काटे। दरबारमा कपाल काट्ने महेन्द्र तेस्रो पुस्ता हुन्। माओवादीका लागि राजतन्त्र निकट जो भए पनि दुश्मन जस्तो थियो, ती दिनमा। राजतन्त्र निकट घरपरिवारप्रति प्रतिशोध राख्थ्यो माओवादीले। महेन्द्रको परिवार पनि माओवादीका लागि आँखाको कसिंगरजस्तै भयो।
सिरहाको धनगढी गाविस दुई नम्बरमा पनि राजतन्त्र निकट परिवारको बसोबास रहेको जानकारी माओवादीले पायो। माओवादीले विस्तारै राणा र राजा निकटका परिवारलाई निशानामा राख्यो। रातको प्रहर पारेर दुई सय जनाको जम्बो टिमसहित माओवादी महेन्द्रको गाउँ पस्यो।
‘बाबुराम खोलाको किनारै–किनार भएर पसेको थियो माओवादी,’ महेन्द्रले भने। माओवादी टोलीले उनका बुवासँग बास माग्यो र दुई सय जनाको लागि खाना बनाउन भन्यो। वृद्ध अवस्थाका जामुन ठाकुरले बास दिन सके पनि खाना बनाउन सकेनन्। उनी घरमा एक्लै थिए। मध्यरात महेन्द्रका बुवालाई चोकको पिपलको रुखमा बाँधेर बन्चरोले काटेर मारेको सम्झिए, ‘खाना त एउटा बहाना थियो। खासमा माओवादीले राजाबादी भनेरै मारेको हो मेरो बुवालाई।’
माओवादीले बुवालाई राजतन्त्र निकट ठानेर मारेपछि महेन्द्रको मनमष्तिस्क नै घुम्यो। ‘कतै मलाई पनि राजावादी भनेर मार्ने हुन् कि भन्ने डरले साह्रै पिरोल्यो। मानसिक रोगी नै भएँ,’ महेन्द्रले भने। जस्तै डर भए पनि जेठो छोरो भएको नाताले बुवाको अन्तिम दाहसंस्कार गर्न सिराहा त जानैपर्थ्यो उनी तर माओवादीको डरले तत्काल जान सम्भव पनि थिएन। बुबा मारिएको १२ औं दिनमा महेन्द्रलाई शाही सेनाको स्कर्टिङले दुई दिन लगाएर सिरहाको धनगढी पुर्यायो।
गाउँ शून्य थियो। मानिसहरु घरभित्रै डराएर बसेका थिए। रातभरिमा केही हुने हो कि भन्ने सोचले उनलाई पनि डस्यो। डराई डराई १३ औं दिनको दिन उनले बुवाको काजक्रिया गरे। शाही सेनाको कडा सुरक्षामा बसे पनि महेन्द्रलाई मनको डरले छिनछिनमा दुःख दिइरह्यो।
घरमा काजक्रिया गरेर काठमाडौं आएका महेन्द्रलाई बुवाको विभत्स हत्याको असरले कोठा नै डरलाग्दो देख्न थाले। राज परिवारसँग फोटो खिचेर भित्तामा सजाएको हेर्न पनि उनलाई गाह्रो भयो। शाही सेना, निराजन, दीपेन्द्र लगायत राजतन्त्र निकट ठूलाबडासँग खिचेका फोटा बोरामा हालेर शंखमूल नजिकैको बागमतीमा बगाए। त्यो क्षण उनी खुबै रोए। भन्छन्, ‘रोएर अलिकति डर त घट्यो तर छटपटी घटेको थिएन।’
बुवाको हत्या भएको एक वर्षपछि राजदरबार हत्याकाण्ड भयो। त्यो काण्डले महेन्द्रलाई मानसिक रोगी नै बनायो। माओवादीले राजावादीलाई खोजीखोजी मार्छ भन्ने सोचले उनलाई खेदाइरह्यो। उनी लुक्दै हिँड्न थाले। दरबार जान र आउन पनि उनलाई गाह्रो हुँदै गयो। तर अवकासका अन्तिम वर्ष भएकाले जागिर पनि छोड्न सकेनन्।
गाउँ शून्य थियो। मानिसहरु घरभित्रै डराएर बसेका थिए। रातभरिमा केही हुने हो कि भन्ने सोचले उनलाई पनि डस्यो। डराई डराई १३ औं दिनको दिन उनले बुवाको काजक्रिया गरे। शाही सेनाको कडा सुरक्षामा बसे पनि महेन्द्रलाई मनको डरले छिनछिनमा दुःख दिइरह्यो।
दरबार हत्याकाण्ड भएको ६ वर्षपछि महेन्द्रले अवकाश पाए। मासिक नौ सय तलबमा दरबन्दी पाएका महेन्द्रले अवकाश लिँदा मासिक १६ हजार तलब भएको थियो। राजतन्त्रका विरुद्ध देशभरि आन्दोलन चलेको थियो। सबै राजनीतिक दलका कार्यकर्ताले काठमाडांैका सडक छोपेका थिए। यस्तैमा महेन्द्रले पनि राजदरबार छोडेर निस्किए। उनले जागिर खाँदा प्रजातन्त्रका लागि आन्दोलन भएको थियो। र, उनले जागिर छोड्दा गणतन्त्रका लागि आन्दोलन चर्किएको थियो। भन्छन्, ‘दरबारको जागिर २०४६ सालको जनआन्दोलनबाट सुरु भएर २०६२–०६३ को जनआन्दोनमा आएर टुंगियो।
दरबार र जनआन्दोलन आफ्नो जीवनको अवस्मरणीय पाटो ठान्छन् महेन्द्र, जसलाई चाहेर पनि बिर्सिन सक्दैनन्। भन्छन्, ‘राजदरबार र जनआन्दोलन दुवैको योगदान रह्यो मेरो जीवनमा।’
शंखमूल जाने सडकको दायाँ किनारमा ‘महेन्द्र हेयर ड्रेसर’ नामको एउटा सैलुन छ। त्यही भेटिन्छन् महेन्द्र अचेल। दरबारको जागिर सकेर उनले २०६३ सालमा यो सैलुन खोलेका थिए। २०६२–०६३ को आन्दोलनपछि उनको मानसिक डर ‘छु मन्तर’ भएर गयो। ‘अब बाँचियो भन्ने विश्वास बढेर आयो,’ महेन्द्र आफू सञ्चो हुनुको जस २०६२–०६३ को जनआन्दोलनलाई दिन्छन्। ‘जर्साबहरु मर्निङ वाक निस्किएर फर्किंदा यही कपाल काटेर जानुहुन्थ्यो,’ दरबारबाट निस्किएर खोलेको आफ्नै सैलुनमा देबेन्द्रबहादुर बस्नेत र मीनशमशेर राणाको कपाल काटेको सम्झिए उनले।
चुच्चो परेको ढाका टोपी लगाएर कैंची चलाइरहेका हुन्छन् महेन्द्र। सैलुनका चारै भित्तामा वीरेन्द्रको परिवारको फोटो टाँसेका छन्। आफ्नो कर्मप्रति सधैं विश्वास रहेको बताउँछन् उनी। भन्छन्, ‘यही काम गरेर मैले जेठी छोरीलाई गोरखापत्र संस्थानमा जागिरे बनाएँ। माइली छोरी नेपाल आर्मीको कमाण्डो तालिम गर्दैछिन्। साइँली छोरी नौ कक्षा र छोरो चार कक्षामा पढ्छन्।’
जीवनको आधा शताब्दी हिँडिसकेका महेन्द्र दरबारमार्गतिर पुग्दा नारायणहिटी हेरेर टोलाउँछन्। बितेको दिन सम्झिएर भावुक हुन्छन्। आफूले १६ वर्ष काम गरेको ठाउँ देख्दा आँखा रसाउँछन्। भन्छन्, ‘नारायणहिटी दरबार देख्यो कि रुन मन लाग्छ। दिमागले काम गर्दैन, भावनात्मक सम्बन्ध गहिरो भएर होला।’