काबुल- अफगानिस्तानले रुस र युक्रेन दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ। शुक्रबार अफगानिस्तानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो।
युक्रेनमा भइरहेको अवस्था आफूहरूले नजिकबाट नियालिरहेको बताउँदै तालिवानी सरकारले संवादमार्फत् शान्तिपूर्ण रूपमा निकास निकाल्न समेत आग्रह गरेको छ।
‘अफगानिस्तान दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘अफगानिस्तान आफ्नो निश्पक्ष विदेश नीतिलाई मध्यनजर गर्दै दुवै पक्षलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछ।’
युक्रेनमा रहेका अफगानी विद्यार्थी र नागरिकहरूको जीवन रक्षाका लागि पनि तालिवानी सरकारले आग्रह गरेको छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यका रूपमा मान्यता दिँदै उक्त क्षेत्रमा रूसी सेना परिचालन गर्न निर्देशन दिएका छन्। युक्रेनले भने त्यसको प्रतिरक्षा गरिरहेको छ।
रुसी सेनाको आक्रमणबाट युक्रेनमा १ सय ३७ जनाको मृत्यु भइसकेको बताइएको छ। रुसी पक्षमा पनि आफूहरूले ठूलो क्षति पुर्याएको युक्रेनी सेनाको दाबी छ।